• ८ जेठ २०८१, मङ्गलबार

नेपाली निर्यातकर्तालाई सहजीकरण गरिदिन चीनलाई आग्रह

blog

काठमाडौँ, वैशाख १९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली निर्यातकर्तालाई चीनको भन्सार र क्वारेन्टाइन प्रक्रिया सहजीकरण गर्न आग्रह गर्नुभएको छ ।  

जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष महामहिम श्री लाङ फुकुआनबिच मङ्गलबार भएको भेटमा उद्योगमन्त्री भण्डारीले सो आग्रह गर्नुभएको हो । 

नेपाली उत्पादनको चीनमा सहज पहुँच, दुवै देशका व्यापारिक बिन्दुलाई व्यवस्थित गर्ने, चीनको भन्सार र क्वारेन्टाइन प्रक्रियाका बारेमा नेपाली निर्यातकर्तालाई चीन सरकारबाट सहजीकरण गरिदिनसमेत उहाँले आग्रह गर्नुभयो ।  

नेपाल र चीनको तिब्बत क्षेत्रबिचको सम्बन्ध हिमाल र नदीहरूबाट जोडिएको भन्दै उहाँले दुई देशको कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि नै विभिन्न तह तथा क्षेत्रमा सम्बन्ध एवं सहकार्य रहँदै आएको बताउनुभयो । नेपाल एक चीन नीति तथा चीनको शान्ति, स्थायित्व एवं विकासलाई प्रवर्धन गर्ने आफ्नो समर्पणप्रति प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 

नेपालले बिआरआईमा सहकार्य गर्दै आएको भन्दै यस अन्तर्गत भौतिक पूर्वाधार विकास तथा अन्तरआबद्धताका विविध क्षेत्रमा लाभ लिन नेपाल प्रयासरत रहेको उहाँले धारणा राख्नुभयो । 

“नेपालसंग सिमाना जोडिएका चीनको सिजाङका प्रमुख भन्सार बिन्दुमा चेकजाँच गर्ने प्रयोगशालाको सुविधा चीनबाट हुन सकेको खण्डमा नेपाली वस्तुको चिनियाँ बजारमा पहुँच विस्तारलाई अझै सहज र सरल बनाउने विश्वास आफूले लिएको मन्त्री भण्डारीले बताउनुभयो । भेटमा तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनले नेपाल सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेकोमा बधाई दिँदै चिनियाँ लगानी कर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको धारणा राख्नुभयो । 

उहांले नेपाल र चीनबिच पछिल्लो समय उच्चस्तरीय द्विपक्षीय भ्रमण भएको भन्दै त्यसले दुई देशको सम्बन्ध मजबुत गर्न सहयोग पुग्ने बताउनुभयो । उपाध्यक्ष फुकुआनलले मन्त्री भण्डारीले उठाएका विषयहरू समाधान गर्न प्रयास गर्ने भन्दै चीन सामूहिक हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राख्नुभयो ।