• ८ मंसिर २०८१, शनिबार

मानसिक स्वास्थ्यमा चुनौती

blog

स्वास्थ्य नै मानव जीवनको महत्वपूर्ण पाटो हो । स्वास्थ्यका आयाममध्ये मानसिक स्वास्थ्यको गहन भूमिका हुन्छ । मानवजीवनलाई मानसिक स्वास्थ्यले सार्थक बनाउँछ । मानवको मानसिक स्थितिले नै व्यक्तिगत–सामूहिक क्षमता बलियो बनाउँछ । समुदायमा योगदान गर्न पनि सिकाउँछ । यो व्यक्ति, परिवार र समाज कल्याणको आधार हो । मानसिक स्वास्थ्य सबै मानिसको आधारभूत मानव अधिकार हो । जहाँसुकै भए पनि सबैको मानसिक स्वास्थ्यको अन्तर्निहित अधिकार छ । यो उच्चतम र पर्याप्त स्तरको हुनु पर्छ । यसको अर्थ मानसिक रोगीले सबै उपलब्ध, योग्य, स्वीकार्य र राम्रो गुणस्तरयुक्त हेरचाहमा पहुँचको अधिकारबाट लाभ लिन पाउनु पर्छ । यो व्यक्तिगत, सामुदायिक र राष्ट्रको आर्थिक विकासका लागि महत्वपूर्ण छ ।

सामान्यतयः अरू रोग–विकार भन्दा मानसिक स्वास्थ्यको घनत्व बढी जटिल छ । यो एक कठोर निरन्तरतामा अवस्थित भएर रहन्छ । समस्या भएको र नभएको व्यक्तिबिच फरक रूपमा अनुभव हुन्छ । कठिनाइ र सङ्कटको फरक डिग्री तह हुन्छन् । धेरै स्वरूपका सामाजिक र क्लिनिकल परिणाम देखा पर्छन् । यसले मानिसलाई सम्भावित रूपमा सधैँ जोखिममा राख्छ । यसले बिरामीलाई मनोसामाजिक असक्षमताको दलदलमा राख्छ । मानसिक अवस्था राम्रो नहुँदा पूरै जीवन सङ्कटग्रस्त हुन्छ । मानसिक स्वास्थ्यको समस्या भएका व्यक्तिहरूले, आफूलाई निम्न स्तरको वा कमजोर अनुभव गर्ने सम्भावना बढी हुन्छ । यसलाई आधारभूत मानव अधिकारका रूपमा हेरे खासै समस्या हुँदैन । उपचार पनि सम्भव र सजिलो हुन्छ ।

कुनै न कुनै तत्व वा पक्ष मानसिक स्वास्थ्यको निर्धारक भएर रहन्छ । हाम्रो जीवनभरि वा जीवनको कुनै कालखण्डमा यस्ता निर्धारकले भूमिका खेल्न सक्छ । यहाँ हाम्रो मानसिक स्वास्थ्यलाई धेरै व्यक्तिगत, सामाजिक र संरचनात्मक निर्धारकले जोगाउन वा कमजोर बनाउन सक्छ । मानसिक स्वास्थ्यको निरन्तरतामा हाम्रो स्थिति परिवर्तनले गहिरो प्रभाव र कठोर संयोजन गर्न सक्छ । अर्थात् सामाजिक पारिवारिक वातावरण, कुनै घटना, व्यक्तिगत मनोवैज्ञानिक र जैविक कारक मानसिक स्वास्थ्यका कारण हुन सक्छन् । अर्काेतर्फ, भावनात्मक कुराहरू र नसालु पदार्थको प्रयोगले पनि मानसिक स्वास्थ्यमा समस्या ल्याउँछ । मानसिक स्वास्थ्य सवालमा आनुवंशिकी कारणले अर्थ राख्न सक्छ । जोखिम त जीवनको सबै चरणमा प्रकट हुन सक्छन् । ती विकासशील तथा संवेदनशील अवधिमा देखा परे भने बढी असर पुग्छ । विशेष गरी प्रारम्भिक बाल्यकालमा रहेका जोखिम वा प्रतिकूलता हानिकारक हुन्छन् । उदाहरणका लागि, कठोर अभिभावकत्व र शारीरिक सजायले बाल स्वास्थ्यलाई कमजोर पार्छ । यो मानसिक स्वास्थ्यको सवालमा एक प्रमुख जोखिम र कारक भइदिन्छ । यी यावत् मानसिक स्वास्थ्यको कारण्ले व्यक्तिलाई कमजोर बनाउँछ ।

नेपाल दक्षिण एसियामा विविध संस्कृति भएको देश हो । यहाँको समुदायमा धेरै जाति जनजाति छन् । यहाँका मानिस मन र शरीरलाई अलग–अलग ठान्छन् । यो उनीहरूको आत्मप्रतिको धारणा हो । यसले मानसिक रोगका बारेमा रहेको बुझाइमा समेत प्रभाव पारेको छ । नेपाली समाजमा सामान्यतया मानसिक रोगलाई आध्यात्मिक रोगको कारण ठानिन्छ । मानसिक स्वास्थ्य समस्या भएका मानिस पनि कलङ्क र भेदभावको निशानामा हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ) अनुसार नेपालमा हाल १० लाखभन्दा बढी मानिसमा मानसिक स्वास्थ्य समस्या रहेको अनुमान गरिएको छ ।

मानसिक स्वास्थ्य समस्या प्रायः गरिबीसँग जोडिएका हुन्छन् किनभने तिनीहरूले रोजगारी र महत्वपूर्ण सामाजिक सम्बन्ध कायम राख्न त्यसै पनि कठिन छ । उपचार नगरी मानसिक रोगबाट पीडित व्यक्तिहरूले आर्थिक रूपमा अस्थिर र अनिश्चित जीवन बिताउनु सामान्य हो । नेपालमा, मानसिक स्वास्थ्य समस्या भएका मानिस, विशेष गरी गरिबीमा जीवन बिताउनेहरूका लागि स्रोत र सहयोगको अभाव छ । खराब मानसिक स्वास्थ्यले गम्भीर शारीरिक र सामाजिक समस्या निम्त्याउँछ । जसले व्यक्तिको जीवनको गुणस्तरलाई असर गर्छ । मानसिक स्वास्थ्यको समस्या झेलेकाहरूको सङ्घर्षको अनुभव कहालीलाग्दो छ ।

नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादनको ७.५ प्रतिशत स्वास्थ्य सेवामा खर्च गर्छ । जुन कुनै राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतको विश्वव्यापी औसतभन्दा निकै कम छ । मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न नेपाली परम्परागत विधि–धामी झाँक्रीमा भर पर्नु सामान्य कुरा हो । नेपालका ग्रामीण क्षेत्रका मानिसको स्वास्थ्य चिकित्सक तथा औषधीमा पहुँच प्रयः शून्य छ । न ग्रामीण क्षेत्रमा सीमित उपलब्धता भएको स्वास्थ्य प्रणाली नै प्रभावकारी छ । यहाँको दुर्भाग्य नेपालीले परम्परागत विधि–धामी झाँक्रीसँग भर पर्नु हो । परम्परागत विधिले मानसिक रोगको सही पहिचान गर्न सक्दैन । यस्ता कार्य गर्नेले उपचार गर्न आवश्यक पर्ने औपचारिक प्रशिक्षण पनि पाएको हुँदैन । 

सन् २०२२ सम्म, नेपालमा प्रति एक लाख जनामा ​​मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने ०.३६ मनोचिकित्सक थिए । यी सबै जसो पेसेवर सहरी क्षेत्रमा केन्द्रित छन् । देशभित्र मानसिक स्वास्थ्य समस्या सम्बोधनमा सरकारले प्रभावकारी भूमिका खेल्न सकेको छैन । राज्यको मानसिक स्वास्थ्यसम्बन्धी कार्यमा पर्याप्त आर्थिक–प्राथमिकता पुगेको छैन । जनचेतनाको कमी त छँदै छ । केही साना योगदानले मात्र मानसिक स्वास्थ्यका क्षेत्रमा परिणम दिन सक्दैन । यसबाहेक, मानसिक रोगी सांस्कृतिक अभ्यासमा रहेको मनोविज्ञानले पीडित हुने गरेका छन् । यस्तो सामाजिक–सांस्कृतिक मनोविज्ञान एक कलङ्कका रूपमा रहेको छ । प्रायःमानसिक रोगी साथी, परिवार र समुदायका सदस्यबाट भेदभाव र अस्वीकारको डरमा बाँच्नु पर्छ । फलस्वरूप नेपालमा मानसिक स्वास्थ्य उपचार लिन मानिस हिचकिचाउँछन् । यो मानसिक रोगको उपचारमा चुनौती बनेर रहेको छ । 

नेपालमा साँच्चै मानसिक स्वास्थ्य उपचार खोज्नेको सङ्ख्या र आवश्यकता बढ्दो छ । विगतमा नेपाली समाजले माओवादी हिंसात्मक गृहयुद्धको सामना गरेको थियो । जसमा १७ हजारभन्दा बढी मानिस मारिए र हजारौँ विस्थापित भए । देश र समाज अझै पनि त्यो हिंस्रक द्वन्द्वको चोटबाट पुनः बाहिर आउन सकेको छैन । न यहाँ शान्ति, स्थिरता र विकासका लक्ष्य नै प्राप्ति भइरहेका छन् । यो अवस्थाले नेपाली समाजमा ठुलो सङ्ख्यामा डिप्रेसन, चिन्ता र मनोग्रसित–बाध्यता विकार (ओसिडी) लगायत सयै प्रकारका मानसिक रोगका रोगी बढिरहेका छन् । 

नेपालको घातक वातावरणीय प्रकोपले नराम्रोसँग मानसिक स्वास्थ्यलाई असर गरेको छ । सन् २०१५ को अप्रिलमा गएको भूकम्पमा आठ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २० हजारभन्दा बढी घाइते भएका थिए । यसले धेरै मानिसलाई बेचैनी थपेर मानसिक स्वास्थ्यको उपचारतिर धकेलेको थियो । यस्ता प्रकृतिका विपत्ति र घटनाले व्यक्तिलाई आघात गर्छ । आपत्कालीन अवस्थाले समाजमा लामो समयसम्म असर गर्ने गर्छ । त्यसैले मानसिक स्वास्थ्य समस्या कम गर्न मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक पर्छ । यसबारे ठोस काम गर्न नेपालको सरकार चुकेको छ । 

नेपालमा मानसिक स्वास्थ्यका लागि नीति तर्जुमा, पुनस्र्थापना र स्वास्थ्य सेवा तथा पूर्वाधार विकासमा धेरै काम गर्न आवश्यक छ । राष्ट्रिय नीति स्तरमा मानसिक स्वास्थ्य समस्या समाधानका क्षेत्रमा कुनै काम हुन सकेको छैन । राज्यले मानसिक स्वास्थ्य सचेतनालाई बढावा दिन सकिरहेको छैन । मानसिक स्वास्थ्यका मुद्दाहरूको वरिपरि भेदभाव घुमिराखेको छ । मानसिक स्वास्थ्यका क्षेत्रमा केन्द्रीकृत कार्य नहुनु दुर्भाग्यपूर्ण छ । लिङ्गमा आधारित व्यवहारको सिकार भएका महिलालाई मनोसामाजिक सहायता, उपचार र आवासीय हेरचाह प्रदान गर्न सकिएको छैन । 

नागरिकको मानसिक स्वास्थ्यमा सेवा पाउने अधिकार स्थापित हुन सकेको छैन । राज्यले दीर्घकालीन योजनाका साथ काम गर्नुपर्ने आवश्यकता त आकाशको फलको कथा भएको छ । नेपालको प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य सेवालाई एकीकरण गर्ने नीति भए पनि व्यवहारमा ल्याउन सकिएको छैन । नागरिकले मानसिक स्वास्थ्य सेवा नपाउँदाकोे पीडा र नोक्सानमा राज्यले भूमिका खेल्न सकेको छैन । 

  

Author

राजकुमार सिवाकोटी