• ३० वैशाख २०८१, आइतबार

इलाममा मतगणना सुरु

blog

इलामको निर्वाचन क्षेत्र नं २ मा सुरु भयो मतगणना । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), वैशाख १६ गते । 
इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार केही बेर अघिबाट मत गणना सुरु भएको हो ।

उच्च सुरक्षाका बिच इलामको गौतम बुद्ध सभा हलमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिनुभयो । मतगणना स्थलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । मतगणना स्थलमा तार जालीसहित सिसी टिभी जडान गरिएको छ ।

मतगणना स्थलमा मतपरिणाम सार्वजनिक गर्ने कार्यलाई व्यवस्थित गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । मतगणना स्थलमा सञ्चारकर्मीका लागि डेक्स स्थापना गरिएको छ ।

इलाममका शनिबार सम्पन्न भएको उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ जना मतदातामध्ये ६९ हजार दुई सय ८७ (५९ दशमलव ७९ प्रतिशत) मतदाताले मतदान गरेका छन् ।

संविधान सभाका सभामुख सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका डकेन्द्रसिंह थेगिमसहित स्वतन्त्र र राजनीतिक दलका गरी १९ जना उम्मेदवार रहनु भएको छ ।