• २८ वैशाख २०८१, शुक्रबार

बझाङमा प्रदेश सभा निर्वाचन : ४९.१२ प्रतिशत मतदान

blog

शनिबार बिहान बझाङको सदरमुकाम चैनपुरस्थित जयपृथ्वी नगरपालिकाको सत्यवादी माध्यामिक विद्यालयमा मतदान गर्दे एक मतदाता। तस्बिर : गोरखापत्र

प्रकाशविक्रम शाह

धनगढी, वैशाख १५ गते। शनिबार बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ )को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा ४९. १२ अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेको बताउनुभयो।

सो क्षेत्रमा २०७९ को प्रदेश सभा निर्वाचन भन्दा कम मतदान भएको छ। २०७९ को चुनावमा अहिलको भन्दा मतदाता कम भए पनि ३१ हजार २७९ मत सदर भएका थिए।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रका बाहेक अरु छ पालिका र थलारा गाउँपालिकाको एक वडाको मत पेटिका शनिबार राति नै सदरमुकाम चैनपुर पुग्ने सम्भावना छ। साइपालका मतपेटिका भने आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइने उहाँले बताउनुभयो।

सबै ठाउँका मत पेटिका आएपछि आइतबार दिउँसो नै मतगणना सुरु हुने उहाँले बताउनुभयो।  उपनिर्वाचनमा ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा तोकिएको थियो।

प्रदेश सभा क्षेत्र नम्बर १ मा सातवटा पालिकाका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन्। सात वटा पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन्।

मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली मतदान केन्द्रमा खटाइएको थियो, प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो। ११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरु क्रमशः नेपाली कांग्रेसले स्व. सिंहका जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमनबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनकबहादुर बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ।