• २७ वैशाख २०८१, बिहिबार

अव्यवस्थित वधशालाको अस्वस्थकर मासु किनबेच

blog

फाइल तस्बिर

मन्थली (रामेछाप), वैशाख १५ गते । रामेछाप सदरमुकाम मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा उपभोक्ता अस्वस्थकर मासु उपभोग गर्न बाध्य छन् । सदरमुकाममा २० वटा मासु पसल छन् । वधशाला व्यवस्थित नहुँदा सबै मासु पसलले स्वास्थ्यकर मासु बिक्री गर्न सकेका छैनन् । 

केही पसलले वधशाला व्यवस्थित गर्न खोजे पनि पर्याप्त हुनसकेको छैन । मासु व्यापारीले तामाकोसी नदी किनारमा पशु वध गर्ने गरेका छन् । मासुमा बालुवा, माटो टाँसिएर खानयोग्य नहुने, वध गर्नसाथ चिसो ठाउँमा राख्न नपाइने समस्या छ । नदी किनारलाई वधशालाका रूपमा प्रयोग गर्दा मन्थली विमानस्थलमा उड्ने विमानमा काग र गिद्ध ठोक्किने जोखिम बढेको छ ।  

नदीको पानीसमेत दूषित र दुर्गन्धित बनाएको छ । नगरपालिकाले व्यवस्थित वधशाला नबनाइदिएका कारण नदी किनारमै वध गर्न बाध्य भएको मासु व्यवसायी पशुपति शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष नगरले तीन लाख छुट्याएको थियो, त्यो पैसा कामै नगरी ‘फ्रिज’ भयो । हामीलाई ठाउँ खोज भन्नुहुन्छ, हामीले कहाँ खोज्ने ।” तत्कालीन पशु सेवा केन्द्र र मन्थली नगरपालिकाले मन्थली-१ स्थित हाटेचउर नजिकै दश वर्षअघि वधशाला बनाएको थियो । 

त्यो वधशाला प्रभावकारीरुपमा सञ्चालन हुन सकेन । व्यवस्थित वधशाला नहुँदा सरसफाइ गरी फ्रिजमा मासु राखेर बिक्री गर्न नसकेको मासु व्यवसायी हजारसिं तामाङ बताउनुभयो । “पशु वध गर्ने ठाउँमा न त पानीको सुविधा छ, न त फोहोर विसर्जन गर्ने ठाउँ नै”, उहाँले भन्नुभयो, “त्यसैले हामीले भुईँमै पशु वध गरेर मासु बेच्ने गरेका छौँ ।” मन्थली नगरपालिकाका नगर प्रमुखले पशु वधशाला यसअघि बनाइदिएको तर सदुपयोग नभएको बताउनुभयो । उहाँले मासु पसलेहरूसँग लागत साझेदारीमा उपयुक्त स्थान छनौट गर्न सके आगामी आर्थिक वर्षमा व्यवस्थित वधशाला निर्माण गरिने बताउनुभयो । रासस