• ९ मंसिर २०८१, आइतबार

अमरगढी किल्लाका हतियार हराए

blog

ऐतिहासिक अमरगढी किल्ला ।

पुष्कर भण्डारी

डडेलधुरा, वैशाख १४ गते । जिल्ला सदरमुकामको खलङ्गामा ऐतिहासिक ढुङ्गे अमरगढी किल्ला रहेको छ । अमरगढी नगरपालिका–५, खलङ्गामा अवस्थित यो किल्ला छ हजार ५०० फिट उचाइमा अवस्थित छ । सो किल्ला ढुङ्गा, माटोसँगै काठले बनेको छ । यसको आकार सिंहको टाउकोको जस्तो छ । तत्कालीन राजा रणबहादुर शाहको शासनकाल १८४७ साल भाद्र ३१ गते नेपाल एकीकरणको सिलसिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्य राज्यमा गाभिएको थियो । 

नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएको १० कम्पनीका सैनिक जवानले र डोटेली राज्यसँग घमासान युद्ध गरेको इतिहास छ । सो युद्धमा गोरखाली फौजसँग डोटेली फौज पराजित भएपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा यहाँ आउनुभएको इतिहास रहेको छ । बडाकाजी थापाले यस क्षेत्रको संरक्षणसँगै महाकाली नदीपारि पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राख्नुभएको थियो । सोही कालमा यस ढुङ्गेकिल्लाको निर्माण गरिएको हो । काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले किल्ला निर्माण गर्नुभएको थियो । १८ औँ शताब्दीको इतिहास बोकेको ढुङ्गे किल्ला हाल जीर्ण हुँदै गएको छ । 

सुदूरपश्चिम प्रदेशको ऐतिहासिक ढुङ्गे अमरगढी किल्ला राजनीतिक गतिविधिले पनि चर्चामा छ । सहिद भीमदत्त पन्तको जन्मथलो अमरगढी किल्लाको प्रवेशद्वारमा बडाकाजी अमरसिंह थापाको सालिक रहेको छ जहाँ लेखिएको छ, ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ ।’ यही किल्लाका ऐतिहासिक हतियार भने हराएका छन् । यहाँ राखिएका हतियार कहाँ छन् भन्ने विषयमा कसैलाई पत्तो छैन । नेपाल एकीकरणका बेला ब्रिटिस साम्राज्यसँग लड्न वीरहरूले प्रयोग गरेका दर्जनौँ हतियार र पाँच वटा तोप हराएका छन् । विगतमा यही किल्लामा सजिएका हातहतियार हराउँदा सो किल्ला ‘मणीबिनाको सर्प’ जस्तै भएको छ । ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय रहेको अमरगढी किल्लाबाट पुरातात्विक महत्वका हतियार हराएको करिब चार दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चाँसो दिखाएको छैन । 

सेनाको संरक्षणमा रहेको उक्त किल्ला एक दशकयता नगरपालिकाले स्वामित्व लिए पनि हराएका हतियारको खोजी गरेको छैन । पञ्चायती व्यवस्थामा शाही नेपाली सेनाको सिपाही भएर अमरगढी किल्लामा खटिई ड्युटी गर्नुभएका ८२ वर्षीय स्थानीयवासी देव भण्डारीका अनुसार पाँच तोप, ५० जति बन्दुक, एक दर्जन भीमसेन नाल बन्दुक र केही घरेलु हतियार किल्लामा रहेका थिए ।

किल्ला नजिकै पश्चिमतर्फ रहेको टुँडिखेलमा बडादसैँको बेला फूलपाती भित्र्याइँदा तोप पड्काइन्थ्यो । उहाँका अनुसार, युद्धमा प्रयोग भएका बन्दुक तथा घरेलु हातहतियार त्यसबेलादेखि प्रत्येक वर्ष दसैँको फूलपातीका दिन किल्लामा रहेका तोप टुँडिखेलमा पट्काउने गरिन्छ ।

यस किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवन्त किल्लाका रूपमा रहेको पुरातत्व विभागको जिकिर छ । किल्लाभित्र तत्कालीन डोटेली फौजले अङ्ग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालालगायत ऐतिहासिक हतियार र सैनिक पोसाक अहिले नहुँदा किल्लाको महìवसमेत घटेको स्थानीयवासी बताउँछन् । 

नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेलधुरालाई आधार क्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लड्न मुख्य आधार बनाएको थियो । स्रोतका अनुसार,  सेनाको खड्गदल गण सुवा भएर गएसँगै किल्लाभित्र रहेका हतियार लिएर गएको हुन सक्छ । त्यसबेला किल्लामा आफैँ पड्किने भीमसेन नाल बन्दुक रहेको र त्यसलाई प्रत्येक वर्ष दसैँको बेलामा कपडाको खोलले ढाक्ने गरिएको थियो । किल्लामा पाँच वटा तोप, दर्जनौँ घरेलु हतियार, १०० जति बन्दुक, किल्लाभित्रै बम, गोलाबारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामग्री रहेको बताइन्छ । 

२०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना अमरगढी नगरपालिकाले २०५६ सालमा किल्लालाई आफ्नो मातहतमा लिएको थियो । २०५८ मा तत्कालीन नेकपा माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन सो किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि अवलोकन तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको थियो । हाल सर्वसाधारणका लागि खुला गरिएको अमरगढी किल्ला पूर्वाधार विकास समितिले जनाएको छ ।