• २४ वैशाख २०८१, सोमबार

‘अधिकारीको जीवनी खुला किताब’

blog

ललितपुर, वैशाख १४ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेका स्वतन्त्रता र अधिकार धेरैको त्याग र बलिदानीबाट प्राप्त भएको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा वर्तमान स्वतन्त्रता मनमोहन अधिकारीलगायतका नेताको उन्नत चेतना, त्याग र अठोटबाट प्राप्त भएको बताउनुभयो । उहाँले मनमोहन अधिकारी जीवनगाथाको विमोचन गर्दै ‘ज्येष्ठ नागरिक देश दर्शन २०८१’ यात्राको शुभारम्भ गर्नुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले अधिकारीको जीवनी नयाँ पुस्ताका लागि पढ्नै पर्ने खुला किताब रहेको र उहाँ नेतृत्वको सरकारले अघि सारेको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’, ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रम निक्कै उत्कृष्ट भएको बताउनुभयो । 

उहाँले अधिकारीले नौ महिना मात्रै सरकार चलाउँदा पनि कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको बताउनुभयो । 

उहाँले अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट सुरु गरेको वृद्ध भत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको नमुना कार्यक्रमका रूपमा रहेको स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिस्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताउनुभयो । 

उहाँले नयाँ पुस्ताले अधिकारीको सादगी जीवनबाट पाठ सिक्नुपर्ने र सधैँभरि आफूलाई असल मान्छेका रूपमा सबैले चिनिदिऊन् भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गर्नुभयो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले अधिकारीले भारतीय कम्युनिस्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सग्राममा समेत योगदान गर्नुभएको स्मरण गर्नुभयो । उहाँले अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा स्वर्गीय अधिकारीको विशेष लगाव रहेको र त्यसैको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानले ती क्षेत्रमा काम गरिरहेको बताउनुभयो । 

उहाँले अधिकारीले जुन विचार बोकेर अघि बढ्नु भएको थियो त्यो विचारलाई मनमोहन स्मृति प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने प्रतिबद्धता जनाउनुभयो ।