• २३ वैशाख २०८१, आइतबार

जङ्गलको बिचमा रहेको बस्ती जोगाउनै मुस्किल

blog

वैशाख ४ गते वनमा लागेको डढेलो बस्तीमा पस्दा आगलागी भएका घर । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसीपुर, वैशाख १३ गते । 
गर्मीयाम सुरु भएसँगै दमकल नकुदेको दिन नै छैन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको दमकलका चालक गोविन्द विश्वकर्मा गर्मीयाम सुरुभएसँगै दैनिक जसो वन जङ्गलमा लागेको डढेलो निभाउन  पुग्नुहुन्छ ।

पालिकाको सबैभन्दा बढी जोखिम वडा नम्बर १३ मा रहेको छ । वैशाख ४ गते एकै दिन तीन वटा घरमा आगलागी हुँदा घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । नजिककै रहेको गौरी सामुदायिक वनमा लागेको डढेलो स्थानीयले निभाउँदा निभाउँदै बस्तीमा पुगेको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष मोहन पौडेलले बस्ती नजिकै जङ्गल भएका कारण डढेलो लागेपछि जोगाउन निकै मुस्किल हुने गरेको बताउनुहुन्छ । पौडेल भन्नुहुन्छ, ‘‘बस्तीमा फुसका छाना भएका घर छन्, त्यस्ता घरमा आगो छिट्टै लाग्छ ।’’

पौडेलका अनुसार वडा नम्बर १३ मा मात्रै फुसका छाना भएका एक सय २७ वटा घर छन् । 

त्यस्तै, जङ्गलमा आगलागी हुँदा बस्ती मात्रै जोखिममा परेका छैनन् मुहानको पानी ल्याउने पाइप समेत जलेर खानेपानीको अभाव हुँदै आएको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले जङ्गलबिचमा रहेका बस्ती जोगाउन निकै सकस परेको बताउनुहुन्छ । उहाँले भौगोलिक विकटताका कारण डढेलो नियन्त्रणमा निकै समस्या हुने गरेको बताउनुभयो । वडा नम्बर १३ का केही जङ्गलमा अझै पनि डढेलो लागेको छ ।