रामकृष्ण बोहरा
बागलुङ, असार १५ गते । जिल्लाको जैमिनी नगरपालिकाका कुश्मिशेरा बजारमा न्यायिक समितिको आयोजनामा नगर भित्रका आमा समूहहरूको सम्मेलन सम्पन्न भएको छ ।
सबै वडाका आमा समूहका अध्यक्ष र प्रतिनिधिहरूलाई मेलमलिाप सम्बन्धी अभिमुखीकरण गराउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो ।
मेलमिलापको असल अभ्यासका लागि गाउँघरमा सक्रिय आमा समूहहरूको सम्मेलन गरिएको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । स्थानीय तहले न्यायिक समितिमार्फत साना विवाद र एक वर्षसम्मको कैद सजाय हुने प्रकृतिका मुद्दाको छिनोफानो गर्ने अधिकार पाएको छ ।
विवाद ग्रामीण तहमा आमा समूहले मेलमिलाप गराउन सक्ने भएकाले सम्मेलन मार्फत महिला सशक्तीकरण गराइएको उपप्रमुख शर्माले जानकारी दिनुभयो । सम्मेलनमा बोल्दै जैमिनीका नगरप्रमुख नरबहादुर पुनले गाउँमा मेलमिलाप गराएमा खर्च नलाग्ने, ठुला विवाद र झगडा हुने दर घट्ने, समाजलाई अपराधमुक्त बनाउन सकिने बताउनुभयो । हरेक क्षेत्रका महिला सशक्त बन्नुपर्ने पुनको भनाइ छ ।
सम्मेलनको उदघाटन गर्दै उच्च अदालत बागलुङका मुख्य न्यायाधीश नातीबाबु लामिछानेले अदालतमा आउने मुद्दामा कानुन र प्रमाण हेरिन्छ, समाजमा व्यावहारिक रूपमा समाधान गरिने भएकाले छिटो न्याय पाउने धारणा राख्नुभयो । सम्मेलनमा वरिष्ठ अधिवक्ता कुमार आचार्य, अधिवक्ता गीता श्रीष लगायतले सहजीकरण गर्नुभएको थियो ।
सम्मेलनमा आमा समूहका प्रतिनिधिहरूले समाजमा भएका विभिन्न घटना र हालसम्म गरेका कामबारे जानकारी गराएका थिए । सम्मेलनले ११ बुँदे जैमिनी घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा न्यायिक समितिको न्याय सम्पादन र विवाद निरुपणका लागि मेलमिलापलाई प्रभावकारी बनाउन आमा समूहको सशक्तीकरण र संस्थागत सुदृढीकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
त्यस्तै, सबै आमा समूहका अनुभवलाई मेलमिलाप र स्थानीय विवाद समाधानमा ग्रहण गर्ने, शान्ति र मेलमिलाप कायम गर्दै विवादलाई स्थानीय स्तरमा समाधान गरी समाजमा सामाजिक सद्भाव र दिगो अमनचयन कायम गराउन प्रतिबद्ध गराउने घोषणा गरिएको छ ।
समाजमा सकारात्मक सोच र प्रवृत्ति सञ्चार गरी स्थानीय मानव पुँजी निर्माण गर्दै रोजगारीको अवसर सिर्जना गर्ने, सामाजिक न्याय, सुशासन र जागरणका लागि महिला सशक्तीकरणमा जागरुक रहने, आपसी मेलामिलाप र सहयोगको माध्यमबाट समाज र समुदाय परिचालन गर्ने घोषणापत्रमा उल्लेख छ ।