राजु लामिछाने
रुकुमपश्चिम, असार १५ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा रहेको जनकल्याण माध्यमिक विद्यालय पुराना गाउँका अध्ययनरत विद्यार्थीलाई दुना टपरी बनाउने तालिम दिइएको छ ।
यहाँको कक्षा ७ मा अध्ययनरत २१ जना विद्यार्थीले दुना टपरी बनाउन जानेपछि खुसी व्यक्त गरेका छन् । कक्षा ७ मा अध्ययनरत छात्रा प्रेमीका केसीले घोकन्ते विद्याभन्दा व्यवहारमा प्रयोग हुने सीप सिक्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
विद्यालयमा शिक्षकले व्यावहारिक रुपमा र साँझ घरमा थप प्रयास गरेपछि आफूले चिटिक्कको दुना टपरी बनाउन सिकेको उहाँले बताउनुभयो । छात्रा प्रेमिकाले घरमा आमा फुपुहरुले टुना टपरी बनाएको देखेको मात्र भए पनि अब आफूले पनि बनाउन जानेको बताउनुभयो । विद्यालयमा रहरै रहरको वातावरणमा उक्त सीप सिक्न पाएको उहाँले बताउनुभयो ।
अर्का छात्र वसन्त दाहालले पनि विद्यालयमै दुना टपरी बनाउन सिकेको बताउनुभयो । आफूले विद्यालयमा बनाएको टपरी घरमा लिएर जाँदा परिवारमा सबै जना खुसी भएको बताउनुभयो ।
प्रेमिका र वसन्तजस्तैे जनकल्याण माविमा कक्षा ७ मा अध्ययनरत २१ जना विद्यार्थी दुना टपरी बनाउन उत्सक देखिएका छन् । गाउँपालिकाले निर्माण गरेको ‘हाम्रो बाँफिकोट’ पुस्तकमा ‘दुना टपरी’ भन्ने पाठ छ । सोही पाठ अन्तर्गत कक्षा शिक्षक सुनिता केसीले विद्यार्थीलाई दुना टपरी बनाउन सिकाउनुभयो ।
विद्यालयका शिक्षक सुनीता केसीले कक्षामा विद्यार्थीले उत्सुकतासाथ दुना टपरी बनाउन सिकेको बताउनुभयो । उहाँले विद्यार्थीले कक्षामा बनाएको दुना टपरी घरमा देखाउँछु भन्दै खुसी भएर लैजाने र घरमा गएर पनि टपरी अझै राम्रो बनाउँछु भनेर खुसी व्यक्त गरेको बताउनुभयो । अभिभावकहरु बच्चाको सीप देखेर खुसी भएका छन् ।
घरमा, विवाहमा, पूजापाठलगायतका सामाजिक कार्यमा प्रयोगमा आउने स्थानीय उत्पादनमा आधारित सामग्री आफैँ बनाउन जान्दा विद्यार्थी व्यवहारिक बन्ने शिक्षक केसीले उल्लेख गर्नुभयो । किताबि ज्ञान मात्रभन्दा पनि व्यावहारिक ज्ञान आवश्यक रहेकाले गाउँपालिकाले तयार गरेको पाठ्यक्रम प्रभावकारी रहेको उहाँको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक धर्मसिंह केसीले अरु कक्षाको पाठ्यक्रममा पनि यस्ताखालका पाठहरु समावेश भएको बताउनुभयो । सबै विद्यालयमा यस्तै प्रकारको व्यावहारिक शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ । प्रधानाध्यापक केसीले विद्यार्थी किताबी ज्ञानमा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यता रहेकाले प्रयोगात्मक रुपमै दुना टपरी बनाउन सिकाएको बताउनुभयो ।
विद्यार्थीले किताबमा रहेको पाठलाई व्यवहारमा लागुगर्दा स्मरणीय हुने जनाएका छन् । सैद्धान्तिक कुरालाई व्यावहारिक बनाउन जनकल्याण माविले जोड दिएको शिक्षकहरुको भनाइ छ ।