• २३ वैशाख २०८१, आइतबार

औलो रोग पहिचान गर्नै मुश्किल

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख १३ गते । म्याग्दी जिल्लामा आयातित औलो रोगका बिरामीहरु हुनसक्ने सम्भावना भए पनि उचित परीक्षणका लागि प्रयोगशाला नहुँदा समस्या भएको छ ।

औलो रोग उन्मूलनको लक्ष्य प्राप्तिका लागि औलो रोगी शून्य हुनुपर्ने भए पनि जिल्लामै परीक्षणका लागि उचित प्रयोगशाला तथा अन्य दक्ष प्राविधिकहरु नहुँदा समस्या भएको हो। 

स्वास्थ्य कार्यालय म्याग्दीमै पनि रगतको नमुना परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने रोग औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमुना सङ्कलन तथा परीक्षण गर्नुपर्ने भए तापनि जनशक्ति तथा पूर्वाधारको अभावले गर्दा अभियान अगाडि बढाउन अप्ठेरो भएको उहाँको भनाइ छ । 

बेनीमा आयोजित अप्रिल २५ अर्थात् विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै ठकुराठीले जिल्लाको ६ वटै स्थानीय तहमा कुल २ लाख ६ हजार ७ सय ४ जनसंख्यामा वार्षिक १ हजार ४ सयको नमुना परिक्षण गर्नुपर्ने राज्यले लक्ष्य दिने भए पनि जनशक्ति तथा प्रयोगशाला नभएको कारण समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, "म्याग्दीमा आयातित औलोको बिरामीको जोखिम रहेको भए पनि सम्भावित क्षेत्रमा नमुना सङ्कलन गर्नुपर्ने र परीक्षण पनि गरिनुपर्थ्याे तर जनशक्तिको अभाव तथा प्रयोगशाला पनि आफूहरुसँग नहुँदा समस्या भएको छ ।" हाल म्याग्दीमा बेनी अस्पताल, दरबाङ आधारभूत अस्पताल दरवाङका साथै अन्नपूर्ण गाउँपालिकामा २ तातोपानी, रघुगङ्गा गाउँपालिकामा २ भगवती, मालिका गाउँपालिकामा १ र धवलागिरी गाउँपालिकामा १ मा आरडीटी परीक्षणका लागि प्रयोगशाला छ ।

दक्षिण एसियामा औलोको उच्च जोखिममा रहेको भारतबाट धार्मिक तथा रोजगारीका लागि म्याग्दीमा बर्षेनी ठूलो सङ्ख्यामा भित्रिने गरेकाले जोखिममा रहेको स्वास्थ्य कार्यालयका गणेश सुबेदीले बताउनुभयो ।

गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७-०७८ मा १२ जना, ०७८-७९ मा १३ जना र ०७९÷०८० मा २६ जना अन्य देशबाट आएका बिरामीको पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो रोग सङ्क्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । औलो लागेको खण्डमा टाउको दुख्ने, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् । 

समयमै उपचार नगरेमा औलोकै कारण ज्यानसमेत जान सक्ने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख ठकुराठीले बताउनुभयो  । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य राख्नुभएको थियो ।