• २२ वैशाख २०८१, शनिबार

आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक : मन्त्री अर्याल

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल

काठमाडौँ, वैशाख १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले योजनाहरु सफल पार्नु भन्दाअघि विगतका योजनाहरु कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा हुनुपर्ने औंल्याउनुभयो । उहाँले गरिबी, आम्दानी, शिक्षा, स्वास्थ्य, जीवनस्तर उकास्न सबैको केन्द्रबिन्दु रोजगारी भएकाले आर्थिक वृद्धिको गति बढाउने योजना अघि सार्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले एउटा योजनामा सबै समेट्ने कारणले स्रोत छरिन्छ र विकास सम्भव नहुने बताउनु भयो । उहाँले रोजगारमूलक आर्थिक विकासका लागि कृषि र उद्योगको विकास महत्त्वपूर्ण रहेको जिकिर गर्नुभयो । उहाँले पूर्वाधार विकास, सेवा प्रवाहमा कमजोरी, प्रदेश संरचना, खर्चमा पुँजीको विषय र सङ्घीयता आइसकेपछि तीन तहकै सरकारलाई सङ्घीयताको विषयमा दिइएको प्रशिक्षणले पनि योजना सफल पार्न भुमिका खेल्ने बताउनुभयो ।

मन्त्री अर्यालले स्वास्थ्य र शिक्षामा गरिरहेका लगानी र प्रतिफलको निर्मम समीक्षा हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्घीयताको प्रयोग सबै राजनीतिक दल र कर्मचारी तन्त्रमा नयाँ भएकाले बहस गर्न आवश्यक रहेको पनि जानकारी दिनुभयो । उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि निर्मम हुन नसके विकास सम्भव नरहेको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्नका लागि राजनीतिक दल, निजी क्षेत्र, कर्मचारीतन्त्र सबै एकजुट भएर लाग्न नसके हामीले बनाउने योजनाहरुले सफलता पाउने कुरामा प्रश्न उठ्ने बताउनुभयो ।

मन्त्री अर्यालले योजनाहरु सफल बनाउन कर्मचारीतन्त्रले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले कर्मचारी, राजनीतिक नेतृत्व र मन्त्रीहरुबीचमा विश्वासको खाडल परेको बताउनुभयो ।