• २४ वैशाख २०८१, सोमबार

पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा नियन्त्रण

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १२ गते । ताप्लेजुङस्थित पवित्र साथै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम फुङ्लिङ बजारदेखि पाथीभरा क्षेत्र जाँदै गरेको सवारी जाँच गर्ने क्रममा मदिरा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार पाथीभरा क्षेत्रअन्तर्गत फुङ्लिङ नगरपालिका–९ देउरालीबाट मदिरा नियन्त्रणमा लिइएको हो । पाथीभरा क्षेत्र जाँदै गरेका विभिन्न सवारी साधन जाँचका क्रममा एक कार्टुन खुकुरी रम (मदिराजन्य वस्तु) फेला परेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको लुङ्गेलीले जानकारी दिनुभयो ।

पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको शान्ति सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा मदिरा सेवन तथा बिक्री वितरण गर्न निषेध गरिएको छ । निषेधित क्षेत्रमा मदिराजन्य वस्तु लैजाँदै गरेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पाथीभरा क्षेत्रअन्तर्गत काफ्ले पाटी, बलु डाँडा, गुराँसे हुँदै माथिल्लो फेदीमा बजार तथा होटलहरु सञ्चालनमा रहेका छन् । उक्त क्षेत्रमा यही वैशाख ४ गते पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गर्दै मदिराजन्य पदार्थको सेवन तथा कारोबार गर्न पूर्ण रुपमा निषेध गरेको छ ।