• २२ वैशाख २०८१, शनिबार

बगर खेतीबाट मनग्गे आम्दानी गर्दै किसान

blog

दिवाकर पोख्रेल

देउखुरी, वैशाख १२ गते । राप्ती नदीको बगर अहिले खरबुजासहितको तरकारीको बगर बनेको छ । नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका–४, बलरामपुर, सेम्रहवाको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा बगर खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । लमही नगरपालिका–४, बलरामपुर निवासी ३३ वर्षीय रसिलाकुमारी चौधरीले खरबुजा, तरबुजा तरकारी गरेर करिब १० कट्ठा क्षेत्रफलमा खेती गर्दै आउनुभएको छ । २० वर्षअघि राप्ती नदीको बाढीले झन्डै विस्थापित हुनुभएकी चौधरी तरकारी खेतीमा व्यवसायीकरण गर्दै आउनुभएको थियो । चौधरीले भन्नुभयो, “अहिले घरखर्च मात्रै नभएर आम्दानी पनि राम्रो भएको छ, खेतमा फलेको तरकारीमा सडकको छेउमा लगेर बेच्छौँ र आफैँ किसान आफैँ व्यापारी भएका छौँ ।” 

उहाँ मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्याला मजदुरी गर्न बाध्य स्थानीय ३७ वर्षीय जमुना चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगर खेती भएको छ । उहाँले पनि एक किघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेती गरेर एक मौसममा पाँच लाखभन्दा बढी आम्दानी गर्दे आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो, ज्याला मजदुरी गरेर जीविका चलायौँ, बगर खेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ, अहिले यही खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न सफल भएका छौँ ।” 

उहाँहरू जस्ता केही वर्षपहिले राप्ती नदीले उठिबास लगाएपछि घरबासको समस्या भएका यस ठाउँका करिब दुई सय किसानले बगर खेती गरेर जीविका चलाइरहेका छन् । त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ । लमही नगरपालिका–४, बलरामपुर र सेम्रहवामा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगर खेती गरेर आम्दानी गर्न सफल भएका छन् । 

अहिले पनि बगर खेती गर्ने किसानका बेग्लै दुःख छन् । छेउमा राप्ती नदी बगे पनि त्यसको पानीले सिँचाइ गर्न सकिएको छैन । पम्पिङ सेट त छ तर मोटर चलाउँदा खर्च लाग्छ । स्थानीय गणेश कुमालले सिँचाइको व्यवस्था बगर खेतीमा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मोटर चलाएर विद्युत् तिर्दा धेरै लागत बढाउँछ, छेउमा राप्तीको पानीलाई कसरी कम लागतमा सदुपयोग गर्न सकिन्छ स्थानीय सरकारले सहयोग गर्नु प¥यो ।” 

बगर खेती गर्ने किसानलाई स्थानीय तहले अनुदान दिने गरेका छन् । किसानलाई तालिमको व्यवस्था पनि छ । उहाँले भन्नुभयो, “गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलका अनुसार बगर खेतीमा लागेका किसानलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था छ । गाउँपालिकाले पाँच कट्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई प्रतिकट्ठा पाँच हजार रुपियाँका दरले अतिरिक्त अनुदान दिने गरेको छ । जसबाट किसानलाई बगर खेतीमा लाग्न हौसला मिलेको छ । बगर खेतीमा बेमौसमी तरकारी बढी उत्पादन हुने भएकाले बिक्रीवितरणका लागि बजारको कुनै समस्या नहुने किसान बताउँछन् ।