• ५ जेठ २०८१, शनिबार

भोजपुर–विराटनगर हवाई उडान ६ वर्षपछि पुनः सुचारु

blog

गोकुल भुजेल
भोजपुर, वैशाख २२ गते ।
भोजपुर–विराटनगर हवाई उडान सेवा ६ वर्षपछि पुनः सुचारु भएको छ । वि.स २०७४ बाट प्राविधिकलगायत विभिन्न कारणले बन्द रहेको उडान हाल उक्त समस्याहरू समाधान भएसँगै पुनः उडान सुचारु भएको हो ।

नेपाल वायु सेवा निगमको टयुनेटर विमानले अब हप्तामा दुई दिन शनिबार र बिहीबार भोजपुर–विराटनगर उडान गर्ने नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काले बताउनुभयो । उहाँका अनुसार भोजपुर–विराटनगर हप्तामा दुई पटक उडान हुन्छ भने हवाई भाडा ४ हजार २९ रुपियाँ निर्धारण गरिएको छ ।

लामो समयदेखि उडान बन्द हुँदा भोजपुर–विराटनगर आवतजावत गर्ने बिरामी, अशक्त तथा समस्यामा परेका यात्रुहरूलाई सवारी साधनबाट यात्रा गर्न बाध्यता थियो । अब सिधा हवाई सेवा सुचारु भएपछि यात्रुहरूलाई छिटो यात्रा गर्न सहज हुने भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले बताउनुभयो ।

उडान सेवाको उद्घाटन गर्नुहुँदै प्रमुख आलेले आगामी दिनमा जहाज उडानमा निरन्तरता र सहजता प्रदान गर्न नेपाल वायुसेवा निगम र क्रु मेम्बरलाई आग्रह समेत गर्नुभयो । भोजपुर–विराटनगर हवाई सेवा पुनः सुचारु भएसँगै जिल्लावासीहरू खुसी भएका छन् ।