• ८ मंसिर २०८१, शनिबार

आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी

blog

काठमाडौँ, वैशाख ११ गते । नेपाल विद्युत् प्राधिकरणले एक हजार ६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी गरेको छ । जलविद्युत् आयोजनाको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ । 

भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि टिबिएम प्रविधि सो आयोजनामा प्रयोगमा ल्याउन लागिएको नेपाल विद्युत् प्राधिकारणले जनाएको छ । अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर र दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टिबिएममार्फत खनिएको सुरुङको जानकारी लिएको छ । 

टोलीले टिबिएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा बेहोर्नु परेका समस्या तथा चुनौतीहरू, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारितालगायतका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी जानकारी लिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका दुई वटा आयोजनाको सुरुङ टिबिएममार्फत खन्दा समय थौरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले सो प्रविधिलाई ठुला सुरुङ भएका दुई जलविद्युत् आयोजना प्रयोगमा ल्याउन लागिएको बताउनुभयो । 

घिसिङले माथिल्लो अरुण र दुधकोशी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको बताउनुभयो । “सुनकोशी मरिण डाइभर्सन र दुधकोशीको मुख्य सुरुङको लम्बाइ बराबर भएकाले टिबिएमबाटै खन्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छौँ,” उहाँले भन्नुभयो, “माथिल्लो अरुणमा टिबिएम पु¥याउन प्रवेश सडक समस्या देखिएको छ, मेसिन पु¥याउन सम्भाव्य देखिएका उक्त आयोजनामा पनि टिबिएम नै प्रयोगमा ल्याइने छ ।” टिबिएमको प्रयोगमार्फत सुरुङ निर्माण छिटो सकिने तर अन्य संरचनाहरू नसकिने अवस्था आउन नदिन सुरुमै आयोजनाका समग्र व्यवस्थापन गरिनुपर्ने उहाँले बताउनुभयो । 

मुख्य सुरुङको लम्बाइ १३ किलोमिटर र उक्त सुरुङ खन्न निर्माण गर्नुपर्ने दुई वटा प्रवेश (एडिट) सुरुङको लम्बाइ पाँच किलोमिटर गरी दुधकोशी आयोजनाले कुल १८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने छ । माथिल्लो अरुण विश्व बैङ्क र दूधकोशी एसियाली विकास बैङ्कको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको छ ।