• १२ साउन २०८१, शनिबार

सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न एमालेको आग्रह

blog

गोरखापत्र अनलाइन

ललितपुर, वैशाख ९ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै काम नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेको छ । आइतबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा एमालेले सो आग्रह गरेको हो ।

बैठकबाट १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै एमालेले मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन पनि आग्रह गरेको छ । राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई आह्वान गर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

एमालेले आफ्नो पार्टीसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) बिचमा नयाँ सत्ता समीकरण निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गरेको छ । 


समीकरणलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि एमालेले व्यक्त गरेको छ । त्यसैगरी पाँच दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमार्फत आजको मुख्य समस्यालाई समाधान गर्नेगरी तालिकाबद्ध रूपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताउनुभयो । ‘विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने सङ्कल्प पनि एमालेले गरेको छ’ उहाँले भन्नुभयो ।

अत्यन्त असहज र प्रतिकुल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याउन कुशलतापूर्वक अगुवाइ गर्न अध्यक्ष केपी शर्मा ओली लगायत १० औँ महाधिवेशनबाट निर्वाचित सिङ्गो नेतृत्वलाई बैठकले विशेष धन्यवाद ज्ञापन गरेको उपमहासचिव रिमालले बताउनुभयो । बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सुदृढ बनाइ निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।