• २३ वैशाख २०८१, आइतबार

घाटुनाच संरक्षणमा गुरुङ समुदाय

blog

गुरुङ समुदायको घाटुनाच बालिकालाई सिकाइँदै ।

मीना कंडेल 

कावासोती, वैशाख ९ गते । नवलपुरका गुरुङ समुदाय यतिखेर ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटन थालेको बताउँछन् ।

कावासोतीका टलबहादुर गुरुङको दिनचर्या अहिले आफ्नो समुदायको लोपोन्मुख घाटुनाच सिकाउनमा बित्ने गरेको छ । सदियौँ पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुँदा यो नाच नै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न आफू लागेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्र भनेर घाटु नचाउन थालेका छौँ ।” 

पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउन पाका पुस्ताले भए पनि घाटुनाच देखाउने गरेको गुरुङले बताउनुभयो । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, सिकार, खेतीपातीबारे व्याख्या तथा अभिनय गरिने गुरुङ समुदायका अगुवा जङ्गबहादुर गुरुङले बताउनुभयो । 

यस नृत्यका लागि रजस्वला नभएका दुई कन्यालाई आफ्नो भेषभूषामा सजाइ नृत्यको प्रारम्भ गरिन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक सङ्ख्यामा छानिने उहाँले बताउनुभयो । यसको सुरु र समापन निकै रोचक हुने घाटु नाचका गुरु गुरुङले बताउनुभयो ।

बच्चा अवस्थाबाट नै आफ्नो परम्परा र संस्कृति सिक्न पाउँदा खुसी लागेको पूजा गुरुङले बताउनुभयो । अग्रज व्यक्तित्वले गरेको देख्दा कस्तो होलाजस्तो लागेको थियो तर अहिले आफैले सिक्न पाउँदा धेरै खुसी लागेको उहाँको भनाइ छ । अब यसलाई निरन्तरता दिँदै घाटुनाच मात्र नभई गुरुङ समुदायको सबै संस्कृति सिक्नका लागि आफू लाग्ने बताउनुभयो ।

सती र ‘बाह्रमासे घाटु नाच नचाइन्छ, बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ, गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक–फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुने नाचका गुरु तेजबहादुर गुरुङले बताउनुभयो ।

गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमा पछिको पञ्चमीमा समापन गर्ने चलन रहेको गुरुङले बताउनुभयो । बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु पनि लोप हुने अवस्थामा पुगेको बताउनुभयो । एक पुस्ताबाट अर्को पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने लक्ष्य रहेको बताउनुभयो ।