• १५ असार २०८२, आइतबार

जुनियर चेसमा हार्दिक च्याम्पियन

blog

विजेता हार्दिक पन्त ।

काठमाडौँ, असार १५ गते । मदन स्मृति यू–१५ जुनियर चेस प्रतियोगितामा पुष्पसदन स्कुलका हार्दिक पन्त च्याम्पियन बन्नुभएको छ ।

राष्ट्रिय बुद्धिचाल सङ्घ र हेटौँडा चेस क्लबले संयुक्त रूपमा आयोजना गरेको विद्यालय स्तरको राष्ट्रिय प्रतियोगितामा हार्दिकले आठ चरणको खेलमा ७.५ अङ्क जोड्दै उपाधि जित्नुभएको हो । उपाधिसँगै उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा भएको प्रतिस्पर्धामा एसियन पब्लिक स्कुलका दीपेन मैनाली सात अङ्क जोड्दै दोस्रो र बसुन्धरा नेसनल एकेडेमीका अविन पाण्डे ६.५ प्रोग्रेसिभ अङ्कका आधारमा तेस्रो हुनुभयो । दीपेनले १५ हजार अविनले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यस्तै संस्कार गुरुकुलका आशिर्वाद थापा चौथो र नाइटिङ्गेल स्कुलका सुभनदिप थापा पाँचौँ हुनुभयो । दुवैलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

यू–९ छात्रतर्फ लाबोरोटोरी स्कूलका अङ्कु्र पोखरेल, यु–११ मा छात्रमा मार्भलसका निहाना श्रेष्ठ र छात्रमा माछापुच्छ्रे आइबीका साहष श्रेष्ठ पहिलो हुनुभयो । यस्तै यू– १३ छात्रतर्फ मार्भलसका बृज्नानन्द दास र छात्रामा उजिभनी कँडेलले बाजी मार्नुभयो । 

विजेतालाई बागमती प्रदेशका पूर्व श्रम तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, आयोजक हेटौँडा चेस क्लबका अध्यक्ष धरमबहादुर लामा, महासङ्घका प्रवक्ता राजु ताम्राकारलगायतले पुरस्कार प्रदान गर्नुभयो । दुई दिने प्रतियोगितामा ४० स्कुलमा एक सय दुई खेलाडीले भाग लिएका थिए ।