• २३ वैशाख २०८१, आइतबार

विद्युतीय चार्जिङ स्टेसन सञ्चालन

blog

नेपालगन्जमा चार्जिङ स्टेसनबाट गाडी चार्ज गर्दै ।

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख ९ गते । नेपालगन्जमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क परिसरभित्र नमस्ते गोर्खाली यातायात सेवा प्रालिले उक्त चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । 

विद्युतीय सवारीसाधन खरिद गर्ने बढ्दै गएकाले नेपालगन्जमा विद्युतीय सवारीसाधन चार्ज गर्ने चार्जिङ स्टेसनको आवश्यकता र माग दुवै बढ्दै गएको थियो । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीवकुमार सिंहले सो चार्जिङ स्टेसनको उद्घाटन गर्दै यस्ता चार्जिङ स्टेसन नेपालगन्जका धेरै ठाउँमा आवश्यक रहेकाले त्यसका लागि विद्युत् प्राधिकरण सकारात्मक रहेको बताउनुभयो । 

विद्युत् वितरण केन्द्र नेपालगन्जका प्रमुख जगन्नाथ लामिछानेले चार्जिङ स्टेसनलाई प्राधिकरणले प्रवर्धन गर्ने विषयमा लगानीकर्ताले स्टेसन राख्न खोजेको खण्डमा विद्युतीय सामग्रीलगायत ट्रान्सफर्मर पुर्‍याइदिने प्राधिकरणको नीतिमा रहेको बताउनुभयो । 

उहाँले पेट्रोलियम गाडीलाई विस्थापित गरेर तराई क्षेत्रमा विद्युतीय गाडी सहज हुने भएकाले सहरमा अझै थप चार्जिङ स्टेसन आवश्यक रहेको बताउनुभयो । हाइवेका छेउमा चार्जिङ स्टेसन सञ्चालन गराउन प्राधिकरणले धेरै सहयोग गर्दै आइरहेको सो अवसरमा जनाइएको थियो । विद्युत् प्राधिकरणको विद्युत् खपत बढाउने अभियानमा सहयोग गर्ने नमस्ते गोर्खाली यातायात सेवा प्रालिलाई आभार समेत व्यक्त गरेको छ । 

विद्युत् खपत अभिवृद्धि तथा विद्युतीय सवारीसाधनको प्रयोग प्रवर्धनका क्रममा ६० किलोवाट क्षमता भएको चार्जिङ स्टेसन बसपार्कभित्र सञ्चालन गरिएको हो । वृद्धि एमएडब्लु र नेपालगन्ज वेस्टर्न अटो सेन्टरको लागतमा सजिलो र छिटो चार्ज गर्न सक्ने क्षमता भएको चार्जिङ स्टेसनले एकै पटकमा दुई वटा गाडीलाई चार्ज गर्न सक्छ ।

अटो व्यवसायी विवेककुमार श्रेष्ठले नेपालगन्जमा विद्युतीय सवारीसाधन चार्ज गर्ने स्टेसन नहुँदा यसअघि विद्युतीय सवारीसाधन चार्ज गर्न कोहलपुर जानुपर्ने बाध्यता रहेकोमा अब नेपालगन्जमै स्टेसन सञ्चालन भएकाले स्थानीयलाई सहज भएको बताउनुभयो । नमस्ते गोर्खाली यातायात सेवा प्रालिका विनोद रिजालले विद्युतीय सवारीसाधन बढ्दै गएको र यहाँ चार्जिङ स्टेसन नभएकाले यो चार्जिङ स्टेसन सञ्चालन गरिएको बताउनुभयो ।