• २१ वैशाख २०८१, शुक्रबार

पालिकामा आगलागी हुँदा करिब ५० घर जलेर नष्ट

blog

कपिलवस्तुका कृषकको टहरामा लागेको आगो । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, वैशाख ८ गते । कपिलवस्तुको यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा आगलागी हुँदा ५० घर टहरा जलेर नष्ट भएको छ । शुक्रबार गहुँको डाँठमा लगाएको आगो बस्तीमा पुग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।

प्रहरीका अनुसार शुद्धोधन-५ घेराउजोत, सानो फुलुवापुर, गदवा, तारानगर क्षेत्रमा आगलागी हुँदा १२ घर गोठ जलेर क्षति गरेको छ । आगलागीका कारण जान मोहम्मद, पराग बरई, सौकत अलि, एलीयास मोहम्मद गद्दी, मोहम्मद हुसेन, जवाहिर मुसलमान, हरिहरप्रसाद यादव, धमल यादव र आकाश यादवको धनमाल नष्ट भएको छ । 

यसैगरी मायादेवी गाउँपालिका–२ अविरावमा आगलागी हुँदा जय सराफ पासी र गुर्देयाल पासीको गोठ जलेर क्षति गरेको छ । यसैगरी यशोधरा गाउँपालिका–१ ठुलो पकडीमा आगो लाग्दा ३० वटा कच्ची र पक्की घर र ६ वटा गोठ जलेर नष्ट भएको जनाएको छ । 

पकडीमा दिउँसो अन्दाजी १ बजेतिर लागेको आगो साँझ ६ बजे नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामजङ्ग पाण्डेले बताउनुभयो । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाको दमकल परिचालन गरिएको थियो ।