• ७ मंसिर २०८१, शुक्रबार

स्मरणीय पञ्चकोट यात्रा

blog

प्राकृतिक, धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र रहेको बागलुङ जिल्लाको पञ्चकोटमा ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ भइरहेको थियो र महायज्ञकै विशेष अनुष्ठानका रूपमा हुन लागेको थियो– ‘भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन ।’ उक्त सम्मेलनमा सहभागी हुन काठमाडौँबाट साहित्यकारको एक टोली प्रस्थान गर्दै थियो । साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकाली संयोजक रहेको उक्त भ्रमण टोलीको सदस्यका रूपमा सौभाग्यवश म पनि सामेल थिएँ ।

विसं २०८० फागुन १९ गते । बिहान ६ बजे सहयात्री मन्जिला अनिल र म अनामनगरको बस चढ्न तोकिएको ठाउँमा पुग्दा एक जनाबाहेक अन्य सबै सहयात्री उपस्थित भइसकेको अवस्था रहेछ तर एक जनाकै कारणले बसमा बसेका सबै जना एक घण्टा जति छटपटाइरह्यौँ । बल्ल ७ बजे हाम्रो बस छुट्यो र सबैको मन उज्यालो भयो तर बस थानकोट पुग्नासाथ हाम्रो त्यो खुसी फेरि ओझेल पर्‍यो । ओहोरदोहोर गर्ने गाडीको सङ्ख्या बढी भएर बाटो जाम हुनु त्यसको कारण थियो । यस्तै हुन्छ भनेर बिहान सबेरै प्रस्थान गर्ने सल्लाह भएको रहेछ । जाम खुल्न घण्टौँ लागेकाले हामी नैकाप नपुग्दै १०.३० बजिसकेको थियो । काठमाडौँको नैकापमा पानी र चिया खुवाएर हिँडेको बस एकै पटक धादिङको धार्के पुगेर रोकियो । त्यहाँको होटलमा बसेर काठमाडौँदेखि साथमा ल्याएको खाजा खाने योजना रहेछ । कृष्ण पाउरोटीले आफ्ना उत्पादन प्याक गरेर हाम्रा लागि पठाइदिएको बताइयो र विभिन्न प्रकारको पाउरोटीको एउटा एउटा पकेट यात्रारत हामी सबैका लागि उपलब्ध भयो तर ती सबै परिकार अण्डा मिसाएर बनाइएका रहेछन् । शाकाहारी हुनुका धेरै फाइदा भए पनि कहिलेकाहीँ त अप्ठेरै पर्ने ! शाकाहारी भएकै कारण हातैमा परिसकेको कृष्ण पाउरोटीको कोसेली छाडेर चमेना होटलमा उपलब्ध भुटेको आलु र सुक्खा रोटी हत्तपत्त चपाएर बस चढ्न दगुर्नुपर्‍यो आफूले । 

बसको पछिल्लो भागतिर आफ्नो सिट परेकाले बसाइ सहज थिएन । दायाँबायाँ र अगाडिपछाडि हुत्तिँदैको हैरान थियो । तुलनात्मक रूपले युवा रहेकी मलाई त असहज भइरहेको थियो भने मसँगै रहेकी पाको उमेरकी लेखिका र मभन्दा पनि पछाडिको सिटमा बस्न विवश पुराना चर्चित गीतकारलाई झनै सास्ती भएको थियो तर उनीहरूको पीडा बुझेर पनि मैले गर्न सक्ने केही थिएन ।अगाडितिर बस्ने सहयात्री केही अघिदेखि नै गीत गाएर रमाइलो गर्दै थिए । मुग्लिङको पुल तरेर पोखरा हुँदै बागलुङ जाने बाटो समाएपछि म पनि रमाइलो परिवेशमा समाहित भएकी थिएँ तर गीत गाउँदै गरेका साथीहरूको आवाजमा आवाज थप्दै गर्दा झ्यालबाट बाहिरको अप्रिय दृश्यमा मेरो आँखा परिहाल्यो । सडकमा गुड्ने गाडीले उडाएको धुलोले गर्दा त्यहाँका घरहरू विरूप थिए । हरियाली पनि धुलोले पूरै ढाकेर सेताम्मे थियो । सडकनजिकै घर भएका मानिसले चिया पिउँदै गर्दा गाडीले उडाएको धुलो र धुवाँ तिनको चियामा मिसिँदै थियो । यो देख्दा यहाँका स्थानीयवासीप्रति करुणा र सरकार अनि ठेकेदारहरूप्रति तीव्र घृणा उब्जिरहेको थियो मेरो मनमा ।

दिउँसोको खाना खाने बेला भएछ । बन्दीपुरको एउटा होटलमा छिर्छौं । खाना तयार हुन केही समय लाग्ने भएकाले मैले त्यो समयलाई फोटो खिच्न सदुपयोग गरेँ । म होटलमा फिर्दा केही सहयात्री अलि बढी नै स्वच्छन्द भएर खानपिनमा जुटेका देखिए । आफू भने शाकाहारी भोजनको प्रतीक्षामा रहेँ एक कुनामा बसेर । बन्दीपुरको खानपिनले थपिदिएको ऊर्जाका कारण हाम्रा केही मित्रमा उत्साह बढेको देखियो अगाडिको यात्रामा । कोही गाउने भयौँ, कोही नाच्न तयार भयौँ । निकै बेरसम्म यो कार्यक्रम चलिरह्यो । यसबेला मैले पनि बाहिरको दृश्यावलोकनबाट आफूलाई पूरै विमुख गराएँ । सूर्यास्तको समय हुन लागेपछि बाहिरको दृश्य उसै पनि धमिलो हुँदै थियो । झ्यालबाट चिसो सिरेटोले जिस्क्याएपछि हामीले झ्याल बन्द ग¥यौँ ।

ठुलो साँझ परिसकेको थियो र हामी पोखरालाई पछाडि छाडेर बागलुङतर्फ निरन्तर अघि बढिरहेका थियौँ । हाम्रोलागि कोठा बुक भएको होटलबाट फोन आएछ र कोठा सीमित भएकाले हरेक कोठामा तीन/तीन जनाका दरले सुत्नुपर्ने जानकारी गराइएछ । हाम्रा टोली नेताले म र हाम्रो यात्रा दलका दुई नवयुवती बिनिता देवकोटा र पूजा चक्रधरलाई सङ्केत गरेर “तीन जना एउटा कोठामा सुत्नू है” भनेको सुनियो । यो सुन्नासाथ हामीले मुस्कान साट्यौँ र आपसमा हात मिलायौँ । 

राति ११ बजे मात्र हामी होटलमा पुग्यौँ । म आफ्नो झोला बोकेर हाम्रा लागि तोकिएको कोठामा पसेँ । भुइँमा ढुङ्गा बिछ्याइएको एउटा डब्बल बेड र एक सिङ्गल बेड भएको साधारण कोठा थियो । सिङ्गल बेडमा आफ्नो झोला राखेर वासरुम नियालेँ, सफै थियो । रुममेट छोरीहरू कोठामा बसेर आपसमा कुराकानी गर्न थाले । खाना तयारी नहुन्जेल म भने बाहिरको टेबुलमा एक्लै बसेँ र आँखामा बिनापावरको चस्मा लागाएर समयको रङमञ्चमा अभिनित दृश्यमा हराउन थालेँ । 

निकै बेर पर्खेपछि बल्ल खाना आउन थाल्यो र म जस्तै शाकाहारी खाना खाने मेरा रुममेट नानीहरूको खाना पनि आयो तर मैले सुरुमै अर्डर गरेको शाकाहारी खाना भने अझै आएको थिएन । वास्तवमा होटल नयाँ भएकाले कामदार नानीबाबुहरू पनि नयाँ नै रहेछन् र उनीहरू जता बोलायो त्यतै अलमलिँदा रहेछन् । बल्लतल्ल भात त आयो तर दाल छैन । अरूका थालमा पनि कहीँ तरकारी छैन, कहीँ अचार छैन । केहीबेरसम्म त म त्यही रमिता हेरेर चुपचाप बसिरहेँ ।

भोलिपल्ट बिहान । ४ बजे नै मेरा आँखा खुले । आफ्ना दैनिक काम समयमै सकेर म बाहिरको दृश्यावलोकन गर्न निस्किएँ । केहीबेर घुमेर आउँदा स्थानीय अग्रज साहित्यकार प्रेम छोटा, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष लेकाली र केही अन्य साहित्यकारबिच कुराकानी हुँदै रहेछ । सबैलाई अभिवादन टक्र्याएर मैले सामूहिक तस्बिर लिएँ । त्यसपछि हामी केहीबेर बस चढेर र केहीबेर पैदल हिँडेर बागलुङ कालिका मन्दिरको द्वारमा पुग्यौँ ।

सिमसिम झरी ! घना जङ्गलबिच ढुङ्गा ओछ्याइएको सफा बाटो ! रातो माटोको मगमग वासना ! सालका सुकेका पातहरूको बाक्लो चाङ ! त्यहाँ हिँड्नुको मजा नै अर्को थियो । यो मन्दिरलाई नेपालको सर्वाधिक सफा मन्दिर त्यसै भनिएको होइन रहेछ । विभिन्न आकर्षक बुट्टाहरू कुँदिएकाले अरूतिरका मन्दिरहरूभन्दा बागलुङ कालिका मन्दिर निकै फरक लाग्यो मलाई । मन्दिरअगाडि बाघको विशाल मूर्ति रहेछ । अलि पर माटोबाट निर्माण गरिएको कमलको फूल रहेछ ।  हामीले मन्दिरभित्रकी देवीको दर्शन गर्‍यौँ । मन्दिर र परिवेशको अवलोकन ग¥यौँ । तत्पश्चात् हामी नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हेर्न गयौँ । यसको लम्बाइ ५६७ मिटर रहेछ । बागलुङ र पर्वत जिल्लालाई जोड्ने यो पुललाई गण्डकी गोल्डेन ब्रिज वा गण्डकी स्वर्णिम झुला पनि भनिँदो रहेछ । 

तालिका अनुसार दिउँसो २ बजेसम्ममा हामी महायज्ञ स्थलमा पुगिसक्नुपर्ने थियो । झरीको दिन थियो र मुटु काम्ने चिसो हावा बेस्सरी चल्दै थियो । हाम्रो यातायातको साधन उचाइमा रहेको यज्ञस्थलतिर उक्लिन थाल्यो । चिटिक्क परेका गाउँघर र बस्तीलाई शुद्ध हावा दिँदै सुसाइरहेका सल्लाका बोटहरू देखिए । उकालो बाटोमा बसलाई घस्रन मुस्किल परिरहेको बुझेर हामी बसबाट ओर्लियौँ र हिँड्न थाल्यौँ । तल बागलुङ बजारलाई बाक्लो हुस्सुले ढाकेको थियो । पानी परेका कारण बाटो हिलाम्मे र चिप्लो थियो । दिउँसै भए पनि परिवेशमा अँध्यारोको कालिमा थियो ।  करिब १५ मिनेटको पैदल यात्रापछि बसस्टप रहेको सानो समथर ठाउँमा पुग्छौँ । खाल्टाखुल्टीमा पानी जमेकाले बस स्टप टेकिसक्नु थिएन तर यहाँबाट देखिने टाढाटाढासम्मका मनमोहक दृश्यले भने मनलाई स्वर्गीय आनन्द दिइरहेका थिए । माथितिरबाट आइरहेको माइकको ध्वनिलाई पछ्याउँदै जाँदा हामी केहीबेरमै महायज्ञस्थलमा पुग्यौँ । त्यहाँ कलात्मक पाराले सजाइएका कलश र हनुमानको विशाल मूर्ति देख्न पाइयो । भक्तजनले मुरीदान गरेको धानको रास पनि देखियो । दान गर्न मन लागेजति धान र मासको गेडा त्यहीँ किन्न पाइने रहेछ । भक्तले चढाएको चिज बिक्रीमा राखिने अनि फेरि अरू भक्तले त्यही सामान किनेर चढाउन पाउँने । क्या सहज ! कति राम्रो व्यवस्थापन !

अन्त्यमा हामी विशेष रूपले सिँगारिएको महायज्ञस्थल पुग्छौँ । अग्लो डाँडो न पर्‍यो ! मुटु कमाउने चिसो बतास चलिरहेको थियो । मैले आफ्ना आँखालाई चारैतिर घुमाएँ । क्यानभासमा बनाएको चित्र जस्तै देखिँदै थिए वरिपरि र तलतिरका दृश्यहरू ! सुन्दर बागलुङ बजार र त्यसको किनार हुँदै बगेको कालीगण्डकी नदीको सुरम्यता ! 

परको बेनीबजार र बाक्लो कुहिरोले ढाकेका डाँडापाखा, ससाना बस्तीहरू, खेतका गरा अनि चिल्ला सडकमा उक्लिँदै गरेका गाडीहरू ! छिनछिनमा बदलिरहने त्यहाँको मौसमले गर्दा प्राकृतिक दृश्य हेर्दा पनि चलचित्र हेरे जस्तै लाग्ने ! आफ्नो यस्तो भूस्वर्गलाई बेवास्ता गरेर हामी अभागी भने मरुभूमि र कृत्रिम जगत्को दास बन्न कता कता भौँतारिने गरेका छौँ हिजोआज । सम्झँदा मात्र पनि चित्त कुँडिएर आउने कस्तो दुःखलाग्दो कुरा ! हामी काठमाडौँदेखि जुन कार्यक्रमका लागि भनेर यहाँसम्म आएका थियौँ सो कार्यक्रम अर्थात् ‘भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन’ निर्धारित समयमै सुरु भयो । प्राडा जगन्नाथ रेग्मी र प्राडा कुसुमाकर नेउपानेबाट भाषा, साहित्य र संस्कृतिसम्बन्धी गहन विचार प्रकट भए ।  त्यसपछि कविहरू प्रेम छोटा, नरेन्द्रबहादुर श्रेष्ठ, काजी रोशन, विक्रमभक्त जोशी, मन्जिला अनिल, मीना श्रेष्ठ, गीता कार्की, मुरारी सिग्देल, दृशी अधिकारी, सुभाषचन्द्र पौडेल, हरिश कल्पित, द्वारिका ढुङ्गेल, रुद्र अधिकारी, पारु तिम्सिनालगायतले आआफ्ना रचना वाचन गरेर महायज्ञ स्थलको रौनक बढाएका थिए । मैले सो अवसरमा ‘मेरी आमाको धर्म’ शीर्षकको कविता पाठ गरेकी थिएँ । कविता वाचनको क्रम पूरा भएपछि महायज्ञ तथा साहित्य सम्मेलनका आयोजक स्वामी कमलनयनाचार्यले साहित्यकारलाई पवित्र वस्त्र ओढाएर बिदाइ गर्दाको क्षण निकै भावुक बनेको थियो ।

भोलिपल्ट बिहान काठमाडौँ फिर्ने क्रममा बागलुङको कुँडुले फेदीमा रहेको श्रीशालिग्राम सङ्ग्रहालय पुगेर सवालाख शालिग्रामको अवलोकन ग¥यौँ । यहाँ एक सुरुङलाई नै सङ्ग्रहालयमा परिणत गरिएको रहेछ । सुरुङभित्र ध्यानमा बस्न इच्छुक मानिसका लागि सुनसान स्थानमा केही कुर्सीसमेत राखिएको देखियो । यस गुफामा प्रवेश गर्दा प्रतिव्यक्ति सय रुपियाँ शुल्क लाग्ने रहेछ ।

कालीगण्डकी नदीमा मात्र पाइने र विष्णु भगवान्को प्रतिरूप नै मानिने शालिग्रामको धार्मिक महìव बुझेकी मलाई यो सङ्ग्रहालय देवालय नै लाग्यो र सवालाख शालिग्रामलाई एकमुस्ट नमन गर्दै आफ्नी ९२ वर्षीय धर्मभिरु आमाका लागि सुस्वास्थ्यको वरदान मागेँ । गुफाको अवलोकनपश्चात् हामी अलि माथिको मनोरम स्थानमा रहेको राम मन्दिरमा पुग्यौँ र त्यहाँबाट बिहानको घामसँग मनमोहक मुस्कान साटिरहेकी नीलगिरि हिमालको दर्शन गर्‍यौँ ।  यसरी बागलुङको पञ्चकोटसम्मको यस पटकको त्रिदिवसीय यात्राले एक फन्को पूरा गरेको थियो । हो, आवरणमा त यो केवल कविता पाठ गर्ने उद्देश्यले गरिएको साहित्यिक यात्रा थियो तर यथार्थमा यो हाम्रो तीर्थाटन पनि थियो । संस्कृतिलाई बुझ्ने प्रयास पनि थियो र प्रकृतिसँग निकट हुने सुवर्ण अवसर पनि थियो । पञ्चकोटको यात्रासँग मैले विगतमा गरेका भारत र थाइल्यान्डका यात्रालाई तुलना गरेँ, धेरै भड्किला र खर्चिला ती यात्राले दिन नसकेको आत्मसन्तुष्टि मलाई स्वदेशको यस छोटो यात्राले दिएको अनुभूति अझै भइरहेको छ । 

  

Author

दुर्गा अधिकारी ‘दृशी’