• २१ वैशाख २०८१, शुक्रबार

आम्दानीको स्रोत बन्दै रायो साग खेती

blog

दोलखाको मकैवारिमा उत्पादित रायोको साग । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, वैशाख ८ गते । भीमेश्वर नगरपालिका–७ मकैवारिका किसानहरूले गरेको बेमौसमी रायो साग खेतीबाट करोडौँ आम्दानी गर्न सफल भएका छन् । अरू तरकारीभन्दा बेमौसमी रायो साग खेतीमा करोडौँको आम्दानी भएकाले किसान यसप्रति बढी आकर्षित भएका केबी अर्ग्यानिक कृषि फार्मका सञ्चालक कृष्ण तामाङले बताउनु भयो । 

उहाँका अनुसार उहाँले मात्रै साढे छ रोपनीमा साग मात्र लगाउनु भएको छ । उहाँले भन्नुभयो, बेमौसमको रायोको साग प्रतिकिलो ६० रुपियाँमा बिक्री हुने गरेको छ । करिब तीन महिनाको अवधिमा सागबाट मात्र पाँच लाख रुपियाँको बिक्री भएको छ । बेमौसमीको भएकाले महँगोमा बिक्री हुन्छ । काउलीबाट छ लाख र जाँगरबाट ५५ हजार रुपियाँ आम्दानी भएको छ । 

साग पाँच पटकसम्म टिप्न सकिन्छ । पहिलो पटक पाँच सय किलो र प्रत्येक पटक करिब सय किलो जति घट्दै जान्छ । उहाँले भन्नुभयो, अरू तरकारीभन्दा सागमै किसान बढी आकर्षित भएका छन् । वैशाखमा साग बिक्री भइसक्छ । अनि आलु खेती हुन्छ । यसबाट पनि राम्रै आम्दानी हुन्छ । साग उत्पादनमा पनि खासै झन्झट छैन । बजारको पनि समस्या छैन । कालीमाटी लगिन्छ । घरघरमै लिन आउँछन् । दिनमा पाँच÷छ ट्रक साग कालीमाटी जाने गरेको छ । 

यो बस्तीबाट वैदेशिक रोजगारीमा जाँदैनन् । उहाँले भन्नुभयो, मेरैमा मात्र पाँच जना मजदुर नियमित र आंशिकमा ९० जना खट्छन् । गाउँमा दुई सय घरधुरीले रायोको सागको व्यापार गर्छन् । सागैसागको हरियाली हुन्छ । पुरानो नाम मकैवारिबाट गाउँ तरकारीवारिमा परिणत भइसकेको छ । 

उहाँ विद्यालयको पढाइ सकेर काठमाडौँ पढ्न जानु भयो । पढ्न छोडेर मजदुरी गर्न लाग्नु भयो । उहाँले भन्नुभयो, १० वर्ष काठमाडौँले मजदुरीले खासै उँभो नलागेपछि गाउँ फर्किएको हुँ । अहिले बरु तरकारी खेतीबाट तीन वर्षमै घर खर्च कटाएर साढे दुई रोपनी जग्गा खरिद र घर निर्माण गर्न सफल भएको छु । 

तरकारी खेती सुरु गर्दा गाउँकै महँगै ऋण पनि पाइएन । उहाँले भन्नुभयो, सदरमुकाम स्थितको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाबाट ६० हजार रुपियाँ ऋण लिएर तरकारी खेती गरेको हुँ । अहिले तिर्दै लिँदै गर्दा २० लाख रुपियाँ ऋण रहेको छ । सहकारीले उँभो लगाएको हो । अन्यत्रबाट ऋण लिन परेको छैन । 

अर्की किसान कल्पना राउतले पनि हाम्रो जनकल्याण साकोसबाट पटक पट गरी दुई लाख रुपियाँ ऋणले गरेको तरकारी खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । उहाँले भन्नुभयो, दुई रोपनीमा गरेको रायो खेती अहिले नौ रोपनीमा गरिएको छ । सहकारीको ऋण चुक्ता गरिसकेँ । साग मात्र पाँच लाख, काउली डेढ लाख र गाजर १० हजारको बिक्री भइसकेको छ । सहकारी हामी किसानका लागि वरदान साबित भएको छ । 

उहाँले तरकारी खेतीको आम्दानीले तीन छोरालाई काठमाडौँमा राखेर पढाउनु पनि भयो । तीनमध्ये दुईलाई २०÷२० लाख खर्च गरी अस्ट्रेलिया पठाउन भएको छ । जेठोले तरकारी खेतीमा सहयोग गरिरहेको छ । उहाँले भन्नुभयो, घर जग्गा जोडियो । एउटा भ्यान पनि जोडेको छु ।  तरकारी खेतीलाई निरन्तरता दिने सोचमा छु । यो व्यापारले गाउँमा पत्याउन पनि थालेका छन् । गाउँका तरकारी खेती गर्ने दुई घरपरिवार सबै सम्पन्न हुँदै गएका छन् ।