• २१ वैशाख २०८१, शुक्रबार

साना उद्योगमा लगानीकर्ता आकर्षित

blog

काठमाडौँ, वैशाख ८ गते । चालु आर्थिक वर्षको नौ महिनामा २८६ उद्योगमा (स्वदेशी र विदेशी) एक खर्ब ६५ अर्ब लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म २८६ उद्योग दर्ता भएका हुन् । जसमा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालु आवमा दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा नौ महिनामै लक्ष्यभन्दा बढी २२३ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगबाट २० हजार १३७ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । 

यस्तै चालु आवमा ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा नौ महिनामा २७ वटा र ८० वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा नौ महिनामा सबैभन्दा कम ३६ वटा मात्र दर्ता भएका हुन् । चालु आवको बजेटमार्फत साना उद्योग दर्तामा सरकारले विभिन्न सुविधा व्यवस्था गरेकाले पनि साना उद्योग सञ्चालनका लागि लगानी गर्न लगानीकर्ता आकर्षित भएका हुन् । 

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले साना उद्योग दर्तामा विभिन्न सहुलियत छुट सुविधा भएकाले पनि साना उद्योग दर्ता गर्ने उद्योगीको सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो । 

साना उद्योग सञ्चालन गर्न कम खर्च लाग्ने भएकाले पनि धेरै दर्ता हुने गरेका छन्, उहाँले भन्नुभयो, “कतिपय उद्योग सुविधा पाउनकै लागि दर्ता हुने र सञ्चालनमा नआउने गर्छन ।”

गत आवको चैत मसान्तसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताले एक खर्ब ८० खर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएका थिए । चालु आवको सोही अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्ताले एक खर्ब ६५ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएका हुन् । जसमा यो वर्ष १५ अर्ब रुपियाँ कम लगानी प्रतिबद्धता जनाएका छन् । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण नयाँ उद्योग दर्तामा कमी आएको छ । 

यस्तै चैतमा मात्रै स्वदेशी २८ वटा नयाँ उद्योग दर्ता गरेका छन् । जसमा साना उद्योग १९, मझौला उद्योग चार र ठुुला उद्योग चार वटा दर्ता भएका छन् । 

उक्त उद्योगहरूमा १० अर्ब ५९ करोड रुपियाँ लगानी प्रतिबद्धता जनाएका छन् । सोही उद्योगबाट एक हजार ९८४ जनाले रोजगारी पाउने विभागले जनाएको छ । त्यसै गरी चैतसम्ममा ३० अर्ब १० करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागले सो अवधिमा ३८ अर्ब रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आउने अपेक्षा गरेको थियो । तीन उद्योगबाट १३ हजार ८३४ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । नौ महिनामा सात वटा डिजाइन दर्ता भएका छन् । चार हजार २०९ सङ्ख्यामा ट्रेडमार्क दर्ता भएका छन् । प्रारम्भिक वातावरण परीक्षण (आइई) २८ वटा भएका छन् । साथै चैतसम्ममा दुई वटा प्याटेन्ट, सात वटा डिजाइन र चार हजार २०९ वटा ट्रेडमार्क दर्ता गरेका छन् ।