• २१ वैशाख २०८१, शुक्रबार

मनाइयो अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस

blog

काठमाडौँ, वैशाख ८ गते । १५ औँ संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस तथा पाँचौँ राष्ट्रिय चिनियाँ भाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । 

‘पारस्परिक शिक्षाको साँघुमार्फत संस्कृतिहरू जोड्दै’ मूल नाराका साथ काठमाडौँस्थित एलआरआई स्कुलमा आयोजित कार्यक्रममा चिनियाँ भाषा अध्ययनरत विद्यार्थीले नृत्य तथा वक्तृत्वकला प्रस्तुत गरेका थिए । चिनियाँ सरकारले नेपाली विद्यार्थीलाई भाषाको अतिरिक्त ज्ञान दिने उद्देश्यले नेपालका विश्वविद्यालय तथा विद्यालयमा चिनियाँ मूलका शिक्षकद्वारा चिनियाँ भाषाको अध्यापन गराउँदै आएको छ । 

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनको घनिष्ठ सम्बन्धको चर्चा गर्दै भाषाको अतिरिक्त ज्ञानले विद्यार्थीको सिप बढ्नुका साथै दुई देशको भावनात्मक सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत सोङले चिनियाँ भाषा उन्नयनका लागि नेपाल सरकारको भूमिकाको पनि सराहना गर्नुभयो । कार्यक्रममा एलआरआई विद्यालयका प्राचार्य डा. देवकान्त जोशीले एलआरआईमा विगत १५ वर्षदेखि कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई चिनियाँ भाषाको अध्यापन भइरहेको जानकारी दिँदै भाषाको ज्ञानपछि विद्यार्थीलाई चीनमा थप अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाउन सहज भएको बताउनुभयो । उहाँले शैक्षिक तथा सांस्कृतिक आदानप्रदान कार्यक्रममार्फत सयौँ नेपालीले चीनको अध्ययन तथा अवलोकन भ्रमण गर्ने अवसर पाउँदै आएको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राडा अच्युत वाग्लेले चिनियाँ भाषा अध्ययनकोमहत्वबारे प्रकाश पार्नुभयो ।

चीन सरकारले लामो समयदेखि नेपालको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ । भाषाको अतिरिक्त ज्ञानको विकासले विद्यार्थीको भविष्य उज्ज्वल हुन ठुलो मद्दत पुग्ने विश्वासका साथ चीन सरकारले भाषाको पारस्परिक विकासमा समेत सहयोग गर्दै आएको छ ।