• २१ वैशाख २०८१, शुक्रबार

ग्रीन हाइड्रोजनको प्रयोगबाट बिजुली निकाल्ने अध्ययनका लागि सम्झौता

blog

ग्रीन हाइड्रोजन उत्पादनको लागि सम्झौता गर्दै काठमाडौँ विश्वविद्यालयका पदाधिकारी र बुद्धभूमि नेपाल हाइड्रो कम्पनीका पदाधिकारी। तस्बिर सौजन्य : राम लामा

केदार तिमल्सिना 

बनेपा, वैशाख ७ गते। नेपालमा पहिलो पटक बिजुलीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा अध्ययन, अनुसन्धान गर्नका लागि प्राज्ञिक निकाय र निजी क्षेत्रबिच सम्झौता भएको छ। शुक्रबार काठमाडौँ विश्वविद्यालय र बुद्धभूमि नेपाल हाइड्रो कम्पनी प्रालिबिच ग्रीन हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो। 

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनिष पोखरेल र हाइड्रो कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। बुद्धभूमि नेपाल हाइड्रो कम्पनी प्रालिले नुवाकोटमा पाँच मेगावाटको तल्लो तादी जलविद्युत आयोजना सञ्चालन गरेको छ। काठमाडौँ विश्वविद्यालय एकेडेमिया इन्ड्रष्ट्रिका संयोजक डा. राम लामाले विश्वविद्यालय र हाइड्रो कम्पनीबिच नेपालमा ग्रीन हाइड्रोजनको प्रविधिलाई प्रयोग गरी वर्षायाममा बढी हुने बिजुलीबाट हाइड्रोजन उत्पादन तथा भण्डारण र सुख्खायाममा सो हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली निकाल्ने विषयमा अध्ययन गर्न सम्झौता भएको बताउनुभयो। 

डा. लामाले सम्झौता अनुसार विश्वविद्यालयले पाँच मेगावाट विद्युत क्षमता रहेको तल्लो तादी जलविद्युत आयोजनास्थलमा एक मेगावाट हाइड्रोजन प्लान्ट स्थापना गरी सम्भाव्यता अध्ययन गर्ने बताउनुभयो। अध्ययनका लागि कम्पनीले विश्वविद्यालयलाई दश लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ। 

विश्वविद्यालयले तीन महिनाभित्र बिजुलीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा सम्भाव्यता अध्ययन, अनुसन्धान गरी कम्पनीलाई प्रतिवेदन बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ। 

केयू र हाइड्रो कम्पनीले गर्न लागेको यो पाइलट प्रोजेक्टले नेपालमा ग्रीन हाइड्रोजनको प्रयोग गरेर विजुली उत्पादनको विषयमा महत्त्वपूर्ण जानकारी पत्ता लगाउने विश्वविद्यालयको विश्वास रहेको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले पहिलो चरणमा वर्षायामको समयमा खेर जाने पानी र बिजुलीको प्रयोग गरी हाइड्रोजन उत्पादन तथा भण्डारण गर्ने र सुख्खायाममा भण्डारण गरिएको हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गरिने बताउनुभयो। 

काठमाडौँ विश्वविद्यालयले विगत दुई वर्षदेखि ग्र्रीन हाइड्रोजन ल्यावको स्थापना गरी नेपालमा हाइड्रोजन उत्पादनको अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। केयूले नेपाल आयल निगमको सहयोगमा २०७९ चैत १९ गते औपचारिक रुपमा हाइड्रोजनको उत्पादन गरेको थियो। निगमकै सहयोगमा विश्वविद्यालयले कोरियाबाट हाइड्रोजन कार आयात गरेको छ भने विश्वविद्यालय परिसरमा रिफ्युलिङ सेन्टर समेत स्थापना गरेको छ।