• २० वैशाख २०८१, बिहिबार

अंग्रेज फौजलाई हराएको खुसीयालीमा विजय उत्सव

blog

शुक्रबार विजय उत्सवको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलगायत ।

छविलाल पाण्डे 

बुटवल, वैशाख ७ गते। बुटवलको जितगढी किल्लामा आजभन्दा २०९ वर्ष अघि नेपाल अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा नेपाली फौजले जित हासिल गरेको स्मरणमा बुटवलमा शुक्रबार विजय उत्सव मनाइएको छ।

विक्रम संवत् १८७१/७२ मा विश्व विजयको अभियान लिएर अघि बढेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्ध कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि.सं. १८७२ वैशाख ७ गते पराजित गरेको थियो।

त्यही खुसीयालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष बुटवलको जितगढीमा विजय उत्सव मनाउँदै आएको छ।

 बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी र्‍याली पुल्चोक गणेश मन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो। गणेश मन्दिर परिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न र पर्यटक आगमनमा जोड दिन आवश्यक रहेको बताउनुभयो। 

कार्यक्रममा बोल्दै बुटवल नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्त्वपूर्ण सम्पदाका रूपमा प्रवर्द्धन गरिरहेको बताउँदै नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सङ्घ सरकारसँग माग गर्नुभयो। 

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल लगायतले सम्बोधन गर्नुभयो।

कार्यक्रममा जितगढी किल्लाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अध्येता निर्मल श्रेष्ठ, विमलबहादुर शाक्य, गोपालप्रसाद लाकौल, पत्रकार महेन्द्र थापा, शरण कर्माचार्य, दिनेश श्रेष्ठ, आम्दा अस्पतालका मेसु डा. विनोद पराजुली, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.  सुदर्शन थापा, झपेन्द्र जिसी, कुलबहादुर केसी, क्याप्टेन किसनबहादुर थापा, गङ्गाबहादुर क्षेत्री, जगत पौडेल, मनोज गौचन, महेन्द्र राजभण्डारी, माधव नेपाल र माधव पौडेललाई सम्मान गरिएको थियो।