• २० वैशाख २०८१, बिहिबार

नेपालगन्जमा विद्युतीय सवारीसाधनका लागि पहिलो चार्जिङ स्टेसन सञ्चालनमा

blog

नेपालगन्जमा सञ्चालनमा ल्याइएको चार्जिङ स्टेसनबाट गाडी चार्ज गर्दै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख ७ गते । नेपालगन्जमा विद्युतीय सवारी साधनको लागि फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क परिसर भित्र नमस्ते गोर्खाली यातायात सेवा प्रालिले सो चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । 

पछिल्लो समयमा आएर विद्युतीय सवारी साधन खरिद गर्नेहरू बढ्दै गएकोले नेपालगन्जमा विद्युतीय सवारी साधन चार्ज गर्ने चार्जिङ स्टेसनको आवश्यकता र माग दुवै बढ्दै गएको थियो । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीव कुमार सिंहले सो चार्जिङ स्टेसनको उद्घाटन गर्दै यस्ता चार्जिङ स्टेसन नेपालगन्जका धेरै ठाउँमा आवश्यक रहेकोले त्यसका लागि विद्युत प्राधिकरण सकारात्मक रहेको बताउनुभयो ।

चार्जिङ स्टेसनलाई प्राधिकरणले प्रवर्द्धन गर्ने विषयमा लगानीकर्ताले स्टेसन राख्न खोजेको खण्डमा विद्युतीय सामाग्री लगायत ट्रान्सफर्मर पुर्‍याइदिने प्राधिकरणको नीतिमा रहेको विद्युत वितरण केन्द्र नेपालगन्जका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो । उहाँले पेट्रोलियम गाडीलाई विस्थापित गरेर तराई क्षेत्रमा विद्युतीय गाडी सहज हुनेभएकोले सहरमा अझै थप चार्जिङ स्टेसन आवश्यक रहेको बताउनुभयो । 

हाईवेका छेउहरूमा चार्जिङ स्टेसन सञ्चालन गराउन प्राधिकरणले धेरै सहयोग गर्दै आइरहेको सो अवसरमा जनाइएको थियो । विद्युत प्राधिकरणको विद्युत खपत बढाउने अभियानमा सहयोग गर्ने नमस्ते गोर्खाली यातायात सेवा प्रालिलाई आभार समेत व्यक्त गरेको छ । 

विद्युत खपत अभिवृद्धि तथा विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धनका क्रममा ६० किलोवाट क्षमता भएको चार्जिङ स्टेसन बसपार्क भित्र सञ्चालनमा ल्याइएको हो । वृद्धि एमएडब्लु र नेपालगन्ज वेस्र्टन अटो सेन्टरको लगातमा सजिलो र छिटो चार्ज गर्न सक्ने क्षमता भएको चार्जिङ स्टेसनले एकै पटकमा दुई वटा गाडीलाई चार्ज गर्न सक्छ ।

नेपालगन्जमा विद्युतीय सवारी साधन चार्ज गर्ने स्टेसन नहुँदा यसअघि विद्युतीय सवारी साधन चार्ज गर्न कोहलपुर जानुपर्ने बाध्यता रहेकोमा अब नेपालगन्जमै स्टेसन सञ्चालनमा आएकोले स्थानीयलाई सहज भएको अटो व्यवसायी विवेक कुमार श्रेष्ठले बताउनुभयो । 

नमस्ते गोर्खाली यातायात सेवा प्रालिका विनोद रिजालले विद्युतीय सवारी साधन बढ्दै गएको र यहाँ चार्जिङ स्टेसन नभएकोले यो चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको बताउनुभयो ।