• ४ जेठ २०८१, शुक्रबार

एआईपीएस एसिया कँग्रेस नेपालमा

blog

काठमाडौँ, वैशाख २० गते । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआईपीएस एसिया) को २५औँ  कँग्रेस आगामी भदौको अन्तिम साता नेपालमा हुने भएको छ। 

स्पेनको सान्ता सुसानामा बसेको एआईपीएस एसियाको बैठकमा नेपाल खेलकुद पत्रकार मञ्चलाई कँग्रेस आयोजनाको जिम्मा दिएको हो । बैठकमा नेपालसँगै मलेसिया र कीर्गिस्तानले दाबी पेश गरेका थिए । 

एआइपीएस एसियाको कँग्रेस यसअघि कतार, दक्षिण कोरिया, चीन, साउदी अरेविया जस्ता सक्षम राष्ट्रहरूले मात्र गरिरहेकोमा नेपालले पाएको यो पहिलो अवसर हो। मञ्चले यसअघि सन् २०१६ मा एआईपीएस एसियाको केन्द्रीय कार्यसमितिको बैठकको आयोजना गरेको थियो। 

नेपाललाई कँग्रेस आयोजनाको जिम्मा दिँदै एआईपीएस एसियाका अध्यक्ष दक्षिण कोरियाका हि डोङ जुङले एसियाको एक सक्रिय संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा प्रभावकारी कार्यक्रम गर्दै आएको हुनाले ठूलो सम्मेलनको आयोजना गर्न सक्षम भएको उल्लेख गर्नुभयो । 

अध्यक्ष हि डोङले भन्नुभयो, ‘‘एसियाली खेलकुद पत्रकारिताको दायरा सबै एसियाली मुलुकमा फैलाउन नेपाललाई यति ठूलो जिम्मेवारी दिइएको हो ।’’

कँग्रेसमा एसियाली राष्ट्रका ३० भन्दा बढी खेलकुद पत्रकार उपस्थित हुनेछन् । त्यसमा अरु राष्ट्रका पत्रकार पनि सहभागी हुने बताइएको छ।

नेपालले आयोजनाको जिम्मा पाएपछि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले विगतमा मञ्चले गर्दै आएका कार्यक्रम देखेर पहिलो पटक सानो सदस्य राष्ट्रलाई जिम्मेवारी दिइएको भन्दै एआईपीएस एसियालाई धन्यवाद दिनुभयो ।

उहाँले कँग्रेसलाई नेपाली खेलकुद क्षेत्र, नेपालको पर्यटन, नेपाली खेल पत्रकारबारे एसियालाई देखाउने मौकाको रूपमा सदुपयोग गर्ने पनि बताउनुभयो ।  बैठकले अर्को वर्षको कँग्रेस आयोनाको जिम्मा हङकङ स्पोर्टस् प्रेस एसोसिएसनलाई दिएको छ।