• १९ वैशाख २०८१, बुधबार

तेस्रो ग्रामीण चलचित्र महोत्सव सुरु

blog

काठमाडाैं, वैशाख ६ गते । 'आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र' भन्ने मूल नाराका साथ आजदेखि तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव सुरु भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा आजदेखि वैशाख ८ गते शनिवारसम्म रामेछापको रामेछाप नगरपालिका ८, रामेछाप बजारस्थित गौरीशङ्कर उच्च माविमा यो महोत्सव आयोजना हुने भएको हो । 

विगत तीन वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटा बताउनुहुन्छ। महोत्सवमा फिल्म स्क्रिनिङ्गसँगै ग्रामीण परिभेषलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी तथा पर्यटन प्रवर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्य रहेको सापकोटाको भनाइ छ । नेपाल ग्रामीण चलचित्र महोत्सवले भाषा तथा संस्कृतिको आदान-प्रदानको लागि समेत विशेष भूमिका निर्वाह हुने आयोजक संस्थाले जनाएको छ ।

महोत्सवमा ग्रामीण कथा र नेपाली चलचित्र, पर्यटन र चलचित्र तथा चलचित्र र स्थानीय सरकार विषयमा तीन भिन्न सिनेमा संवाद कार्यक्रममा सञ्चालन गरिनेछ । महोत्सवका संयोजक कमल एक्चै मगर हुनुहुन्छ ।

महोत्सवमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा जुरी कमिटी रहेको छ । जुरीमा गणेश पाण्डे, भरत रेग्मी, ज्योतिराज राई तथा कुबेरराज गिरि हुनुहुन्छ ।