बाँच्नका लागि हावा नभई हुन्न तर त्यही हावाले नै ज्यान लिने अवस्था आयो भने के हुन्छ ? काठमाडौँलगायत खास गरी सहरी क्षेत्रमा वायु प्रदूषण बढ्दै गएको छ । स्थिति यस्तो बनिसकेको छ, निकट भविष्यमै स्वच्छ हावाका लागि ‘क्लिन एयर ब्याग’ बोक्नुपर्ने परिस्थिति नआउला भन्न सकिन्न । पछिल्ला केही वर्षलाई फर्केर हेर्दा दशकैपिच्छे नयाँ वातावरणीय मुद्दा थपिँदै गएका छन् । ठोस फोहोर व्यवस्थापनको चुनौतीदेखि पानीको प्रदूषण हुँदै अहिले विश्वका अधिकांश सहर वायु प्रदूषणको चपेटामा परेका छन् ।
वायु प्रदूषण वातावरणीय मुद्दामा मात्र सीमित नभएर मानव स्वास्थ्य जोखिमसँग पनि जोडिएको विषय हो । आइक्यु एयर अनुसार यस वर्षको ७ अप्रिल अर्थात् विश्व स्वास्थ्य दिवसकै दिन काठमाडौँ उपत्यकाको वायु विश्वकै सबैभन्दा गुणस्तरहीन रहेको थियो । त्यस समय काठमाडौँ उपत्यकाको वायु गुणस्तर २१५ एक्युआईसम्म पुगेको थियो । यसलाई ध्यान दिँदै राष्ट्रिय मानव अधिकार आयोगले २०८० चैत २८ मा प्रेस विज्ञप्ति जारी गरी स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आह्वान गरेको थियो ।
यसविपरीत अधिकांश युरोपेली राष्ट्रहरूको एक्युआई ५० भन्दा मुनि रहेको थियो । ० देखि ५० एक्युआईसम्मको हावालाई स्वच्छ मानिन्छ । एयर क्वालिटी लाइफ इन्डेक्स २०२३ को प्रतिवेदन अनुसार विश्वको एक चौथाइ जनसङ्ख्याको बसोबास भएको दक्षिण एसियामा पर्ने चार वटा देश बङ्गलादेश, भारत, पाकिस्तान र नेपाल विश्वकै दस अति वायु प्रदूषित देशको सूचीमा परेको थियो । उक्त प्रतिवेदन अनुसार वायु प्रदूषणका कारण यस क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिको औसत आयु करिब पाँच वर्षले घटेको अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणको कारण विश्वमा प्रतिवर्ष झन्डै ७० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा भने प्रत्येक वर्ष ४० हजार व्यक्तिको मृत्यु हुने गरेको छ । उक्त सङ्गठनको सन् २०२२ को तथ्याङ्क हेर्दा विश्वको कुल जनसङ्ख्याको ३० प्रतिशत मानिस घरभित्र भएको वायु प्रदूषणको जोखिममा रहेका छन् । उच्च रक्तचाप र धूमपानपछि विश्वमा मानव मृत्युको तेस्रो अग्रणी कारण वायु प्रदूषण रहेको छ । दक्षिण एसियामा मसिना धुलोका कण (पिएम २.५) लाई मानव मृत्युदर जोखिमको तेस्रो मुख्य कारकका रूपमा हेरिएको छ । पिएम२.५ (पार्टिकुलर म्याटर) र पिएम१० धुलोका मसिना कणलाई जनाइन्छ । पिएम१० को आकार ठुलो भएको हुनाले यो धुलोका कण वायुमण्डलबाट जमिनका सतहमा तुलनात्मक रूपमा चाँडै नै थिग्रिन्छ भने पिएम२.५ अति मसिना धुलाका कण भएको हुनाले जमिनका सतहमा सजिलै थिग्रिँदैन र लामो समयसम्म हावासँगै वायुमण्डलमा रहिरहन्छ । पिएम२.५ आकारको धुलो वायुमण्डलमा लामो समयसम्म उडिरहने प्रवृत्तिले गर्दा श्वासप्रश्वास एवं मानव स्वास्थ्यमा यसले प्रत्यक्ष असर गर्छ, जसले गर्दा वायु गुणस्तरको मुख्य सूचकाङ्कका रूपमा यसलाई लिइन्छ ।
कति प्रदूषित हावा ?
सन् २०२१ मा काठमाडौँ वरिपरिका जङ्गलमा डढेलो लाग्यो । यसबाट उत्सर्जित वायु प्रदूषण वायु प्रवाहसँगै काठमाडौँ उपत्यकामा प्रवेश गर्दा उपत्यकाको वायु अत्यधिक प्रदूषित भई विपत्को अवस्था आएको थियो । नासा फम्र्स अनुसार यस वर्षको ८ अप्रिलमा एक हजार ६६३ वटा वन डढेलोका घटना भए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २०२० नोभेम्बर ३० देखि २०२१ मे २९ बिचको सुक्खायाममा कुल छ हजार ७९९ वटा वन डढेलोका घटना भए । वातावरण विभागका अनुसार सोही समयमा काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ३०० भन्दा बढी नाघ्यो । वायु गुणस्तर सूचकाङ्क ३०० भन्दा बढी भएमा खतरनाक र आपत्कालीन मानिन्छ । यसले गर्दा विद्यालय बन्द गर्न र जनसमुदायलाई आवश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाल सरकारले सूचना जारी गर्नु परेको थियो ।
बढ्दो औद्योगिकीकरण, वन डढेलो, आगलागी, अव्यवस्थित सहरीकरण, जनसङ्ख्या वृद्धि, कलकारखाना, घरभित्र बालिने दाउरा, कोइला, मटितेल र गुइँठा; ढुङ्गागिट्टी, इँटाभट्टा, भट्टीजडित उद्योग, सडक विस्तार, पुराना प्रविधि तथा आवश्यक मर्मतसम्भारविहीन सवारीसाधन, कृषिमा बाँकी रहने अवशेषहरूको उचित व्यवस्थापन नगरी खेतबारीमै जलाउने प्रचलन, खाल्टाखुल्टीयुक्त धुलाम्मे सडक तथा अव्यवस्थित निर्माण सामग्रीहरू सडकमै थुपार्ने विद्यमान प्रचलन तथा अन्तरदेशीय प्रदूषणलाई वायु प्रदूषणको मुख्य स्रोत मान्न सकिन्छ । कम औद्योगिकीकरण भए पनि तोकिएको मापदण्डविपरीत उद्योगहरूले उत्पादन गर्ने अनियन्त्रित उत्सर्जनले नेपालमा स्थानीय वायु प्रदूषण बढाउने गरेको छ । नेपालमा प्रायः फागुनदेखि वैशाखसम्म वन डढेलो लाग्ने गर्दछ । यही समयमा ग्रामीण भेगमा बर्सेनि खोरिया, बुट्यान र गहुँको छ्वाली जलाई खेती गर्न जमिन तयार गर्ने प्रचलन छ ।
जमिनदेखि वायुमण्डलसम्म प्रभावित
वायु प्रदूषणले मानव स्वास्थ्यबाहेक जलवायु तथा वायुमण्डलीय प्रक्रिया, कृषिको उत्पादकत्व, नागरिक उड्डयन क्षेत्र आदिमा प्रत्यक्ष प्रभाव पर्छ । युरोपियन इनभायरोमेन्ट एजेन्सीका अनुसार वायु प्रदूषणले गर्दा ब्रोन्काइटिस, दम, फोक्सोको क्यान्सर, एसबेस्टोसिस, साइस्टिक फाइब्रोसिस, निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी रोग हुनुका साथ मुटुको रोग, स्ट्रोक, मस्तिष्कघात, आँखा, नाक, कान, घाँटी र छालाको जलन, हाइपर टेन्सनका बिरामीको सङ्ख्या बढ्दै गएको छ । घरभित्र हुने वायु प्रदूषणले खास गरी गर्भवती तथा सुत्केरी महिला, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिका अत्यधिक प्रभावित हुन्छन् । वायुमण्डलमा प्रदूषक तत्वहरूले सूर्यको प्रकाशलाई छेक्ने र बोटबिरुवा, वनस्पतिका पातमा समेत धुलोको तहले छोपिने हुँदा प्रकाश संश्लेषण (फोटोसिन्थेसिस) प्रक्रिया अवरुद्ध हुन गई उत्पादकत्वमा कमी आउँछ । उच्च वायु प्रदूषणकै कारण हिउँदयाममा उत्सर्जित बाक्लो खैरो बादल (ब्राउन क्लाउड) उत्तर भारत र नेपाल भएर बङ्गालको खाडीतर्फ उड्दै जाँदा सूर्यको किरणलाई छेकिदिएर शीतलहर आउने र तराई क्षेत्रको हिउँदे बालीनालीमा ठुलो नोक्सानी हुने गरेको छ ।
यसका अतिरिक्त वन डढेलोका अवशेषका रूपमा बाँकी रहेका मसिना धुलोधुवाँका काला कणहरू (ब्ल्याक कार्बन एन्ड सुट) हावासँगै उडेर हिमाली भेगसम्म पुग्ने, हिमसतहमा थिग्रिएर सूर्यका किरणलाई सोसी हिउँ सतहलाई तताउने र हिमालयको तापव्रmम बढाई हिँउ पगाल्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । वायु प्रदूषणले वातावरणीय दृश्य (भिजिबिलिटी) लाई पनि धमिलो बनाई कैयौँ सवारी दुर्घटना भएको पाइन्छ । साथै विमानस्थलमा विमानको उडान र अवतरण अवरुद्ध हुने गरेको र कतिपय अवस्थामा दुर्घटनासमेत हुने डर हुन्छ । विश्व बैङ्कको सन् २०१९ मा प्रकाशित प्रतिवेदन अनुसार नेपालमा प्रदूषणका कारण सन् २०३० सम्ममा झन्डै एक हजार ३८६ मिलियन अमेरिकी डलर बराबरको आर्थिक भार पर्न सक्ने अनुमान गरिएको छ ।
नेपाल विश्वका दुई ठुला र अति धेरै वायु प्रदूषण उत्सर्जन गर्ने मुलुकबिच अवस्थित छ । सन् २०२३ डिसेम्बर २९ मा आइक्यु एयरको तथ्याङ्क अनुसार भारतको दिल्लीमा ३९६ एक्युआई र चीनको बेइजिङमा २६६ एक्युआई पुगेको थियो । नेपालका अधिकांश उच्च जनघनत्व भएका बजार सामान्यतया गहिरा उपत्यका, साँघुरा फाँट तथा अग्ला पहाडी शृङ्खलामा अवस्थित छन्, जहाँ हावाको प्रवाह सीमित र प्रसारण क्षमता न्यून हुन्छ । यस्ता क्षेत्रमा वायु प्रदूषण उत्सर्जनका ससाना गतिविधिले पनि वायु गुणस्तरमा उल्लेख्य परिवर्तन ल्याउँछ । यस कारण नेपालका अधिकांश ठाउँमा सामान्य दिनहरूमा पनि पिएम२.५ को मात्रा नेपाल सरकारले तोकेको मापदण्डभन्दा धेरै भएको देख्न सकिन्छ । काठमाडौँको वायु प्रदूषणको मासिक तथ्याङ्क हेर्दा हिउँदयाममा (डिसेम्बरदेखि फेब्रुअरीसम्म) अत्यधिक हुने गरेको छ भने वर्षायाममा (जुनदेखि सेप्टेम्बरसम्म) सबभन्दा कम देखिने गरेको छ तर वन डढेलो तथा आगलागी बढेको हुनाले अप्रिलमा पनि उच्च वायु प्रदूषण भएको देखिन्छ ।
वायु प्रवाहका लागि कुनै ‘भिसा’ चाहिँदैन । अर्थात् वायुलाई देशको सीमारेखाभित्र बाँध्न सम्भव हुन्न । हिउँदको समयमा भारतको पञ्जाब र हरियाणा राज्यमा कृषिजन्य अवशेष जलाउँदा प्रदूषित हावाको अन्तरदेशीय प्रवाहले नेपालको वायुलाई पनि प्रदूषित बनाउने गरेको
अब के गर्ने ?
काठमाडौँ उपत्यकाको वायु प्रदूषण व्यवस्थापनका लागि तयार गरिएको ‘काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ २०७६ सालमा आयो । उक्त कार्ययोजना वायु प्रदूषण व्यवस्थापनमा केन्द्रित छ । यसको क्रियाकलापलाई सम्बन्धित सरोकारवाला निकायले सक्रिय रूपमा कार्यान्वयन गर्न आवश्यक छ । वायु प्रदूषण न्यूनीकरणका लागि हरित उत्थानशील विकासको अवधारणा अवलम्बन, वायु प्रदूषणजन्य विपत् जोखिम पूर्वानुमान राष्ट्रिय क्षमता विकास गरी पूर्वसुसूचित गर्ने संयन्त्र विकास गर्नुपर्ने देखिन्छ । त्यसै गरी वन डढेलो व्यवस्थापन रणनीति, २०६७ परिमार्जन गरी वायु प्रदूषणजन्य विपत्लाई समावेश गर्ने, विकास आयोजनालाई वातावरण प्रभाव मूल्याङ्कन र वातावरणीय कानुनको दायरामा ल्याउने र वायु प्रदूषणजन्य विपत् व्यवस्थापनका लागि तीनै तहका सरकारलाई आवश्यक पूर्वतयारीका लागि जिम्मेवार बनाउनेलगायतका कार्यबाट नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सकिन्छ ।