• २० वैशाख २०८१, बिहिबार

नार्पाभूमिमा अझै पुगेन पाठ्यपुस्तक

blog

यदुप्रसाद भट्ट
मनाङ, वैशाख ५ गते । 
चारवटा स्थानीय तह रहेको मनाङको नार्पाभूमिबाहेक अन्य तीन तहमा शैक्षिक सत्र सुरुवातसँगै पाठ्यपुस्तक उपलब्ध भएका छन्  । नासो, चामे र मनाङ ङिस्याङमा पाठ्यपुस्तक उपलब्ध भएका हुन् ।

मनाङका लागि लमजुङ भोटेओडारका सापकोटा पुस्तक पसल सञ्चालक ज्ञानहरि सापकोटाले विवरण पठाएका विद्यालयहरूमा पाठ्यपुस्तक पठाइएको बताउनुभयो ।

उहाँले नार्पाभूमिका लागि कुनै पनि विवरण प्राप्त नभएकाले उपलब्ध गराउन आफू असमर्थ रहेको बताउनुभयो ।

सापकोटाका अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक नार्पाभूमिबाहेक अरू पालिकामा पुगिसकेको छ । उहाँका अनुसार विद्यार्थीको अनुमानित सङ्ख्याका आधारमा पुस्तक पठाइएको छ । विगत वर्षहरूमा शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो तर यस शैक्षिक सत्र २०८१ का लागि सरकारी पाठ्यपुस्तक अभाव छैन ।

नार्पाभूमि विकट हुनु तथा काठमाडौँबाट विद्यार्थी आउने हुँदा पुस्तक नपुगेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । नार्पाभूमिका विद्यार्थी आउने क्रम जारी रहेको र भर्ना अभियान सञ्चालन भइरहेको नार्पाभूमि शिक्षा शाखा प्रमुख मनीषा विकले बताउनुभयो । उहाँले विद्यार्थी आएपछि पुस्तक वितरण गरिने बताउनुभयो । तर उहाँको भनाइमा फरक मत राख्दै शिक्षा विकास तथा समन्वय प्रमुख मतिलाल चपाइले विद्यार्थी नै नभएको विद्यालयमा केको पाठ्यपुस्तक पुर्‍याउनु र ? भनी प्रतिप्रश्न गर्नुभयो ।

त्यसैगरी, मनाङ ङिस्याङ शिक्षा शाखा प्रमुख नीलकण्ठ पौडेलले शैक्षिक सत्र सुरुसँगै पाठ्यपुस्तक अभाव नभएको र भर्ना अभियान चलिरहेको बताउनुभयो ।

शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेकाले विद्यार्थीले पुस्तकको अभाव झेल्नु नपरेको लोकप्रिय मावि चामेका प्रधानाध्यापक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

सापकोटा पुस्तकका सञ्चालक ज्ञानहरि सापकोटाले आफूले गत वर्षको पनि केही रकम भुक्तानी नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘गत वर्ष पनि बढो दुःख गरेर पुस्तक ढुवानी गरेँ, तर भुक्तानी भएन । अहिले त चैत १३ गते नै सबै व्यवस्था मिलाएको थिएँ, एसइई परेकाले सकिएपछि मात्रै ढुवानी गरेको हुँ ।’’