• १८ वैशाख २०८१, मङ्गलबार

कृषिमा वातावरणको प्रभावबारे अध्ययन समिति गठन

blog

काठमाडौँ, वैशाख ५ गते । कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषिमा वातावरणले पारेको प्रभावका बारेमा अध्ययन गर्न विज्ञहरूको एउटा समिति गठन गरेको छ । 

नार्क अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले बोर्लोग इन्स्टिच्युट फर साउथ एसियाका अधिकारीसँगको छलफलपछि कृषिमा वातावरणीय प्रभावबारे अध्ययन गर्न समिति गठन गरेको हो । नार्कका वैज्ञानिक डा. रोशनबाबु ओझाको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको हो । 

अनुसन्धान केन्द्रका प्रमुख डा. ध्रुव भट्टराईले विश्वमा परिवर्तन भइरहेको वातावरणले नेपालको कृषिमा कस्तो प्रभाव पारिरहेको विषयमा अध्ययन गर्नका लागि सो समिति गठन गरिएको बताउनुभयो । विश्व वातावरणीय जोखिममा नेपाल चौथो स्थानमा रहेको छ र त्यसको सबैभन्दा बढी प्रभाव कृषिमा परेको बताउँदै उहाँले कृषिमा कहाँ कहाँ कसरी असर गरेको छ, त्यसबारेमा अध्ययन गरी समाधानको उपाय खोज्ने बताउनुभयो । 

अहिले हिमालमा उत्पादन हुने फलफूल तथा बाली तराई मधेशमा पनि हुन थालेको छ भने तराई मधेशमा उत्पादन हुने फलफूल, बाली हिमाल तथा पहाडमा पनि उत्पादन हुन थालेको छ । चाहिएको बेलामा पानी नपर्ने, नचाहिने बेलामा पानी पर्न थालेपछि खेती प्रणालीमा नै असर गरेको छ । अहिले कतिपय फलफूल आफ्नो सिजनमा फल्दैन र पाक्दैन, अरू सिजनमा फल्न थालेका छन् ती सबै वातावरणकै प्रभाव रहेको बताउँदै प्रमुख भट्टराईले वातावरणले कृषिमा पारेको प्रभावले उत्पादनमा पनि असर पारेको बताउनुभयो । 

वातावरणकै कारण रैथाने बालीहरू हराउँदै गएका छन् भने अन्य नयाँ नयाँ जातका बाली देखिन थालेका छन् भन्दै उहाँले यी सबै विषयमा अध्ययन गरेर जोखिम कम गर्न उपाय खोजिने बताउनुभयो ।

कृषिको कुन क्षेत्र, कुन भूगोल, कुन बालीमा वातावरणको जोखिम छ, कस्ता कस्ता जोखिम छन्, त्यसको विश्लेषणात्मक अध्ययन गरी समितिले जोखिम कम गर्नका लागि कस्ता कस्ता प्रविधिको विकास गर्नु पर्छ त्यसको बारेमा पनि अध्ययन गरिने उहाँले जानकारी दिनुभयो । 

वातावरणीय प्रभावको अध्येता एवं भारतीय वैज्ञानिक डा. प्रमोदकुमार अग्रवालको नेतृत्वमा आएका बोर्लोग इन्स्टिच्युट फर साउथ एसियाका अधिकारीसँग नार्कका वैज्ञानिकले छलफल गरेका छन् । कृषिका लागि वातावरणीय प्रभावको हिसाबले नेपाल उच्च जोखिममा रहेको र त्यसलाई न्यूनीकरण गर्न एकअर्कालाई कसरी सहयोग गर्न सकिन्छ, त्यस विषयमा छलफल भएको अनुसन्धान केन्द्रका प्रमुख भट्टराईले बताउनुभयो । 

विश्वमा परिवर्तन भइरहेको वातावरणका कारण सबैभन्दा असर कृषिलाई गरेको छ, त्यो वातावरण अनुकूल कस्ता बाली लगाउने, कस्तो प्रविधि प्रयोग गर्नेलगायतका विषयमा गहन छलफल तथा अनुसन्धानका आवश्यकता रहेको धारणा वैज्ञानिक अग्रवालले राख्नुभएको छ । वातावरण अनुकूल विभिन्न प्रविधिको विकास भएका छन्, त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ, ती सबै विषयमा छलफल गरी अगाडि बढ्ने एक प्रकारको समझदारी भएको अनुसन्धान केन्द्रका प्रमुख भट्टराईले बताउनुभयो । 

नार्कले गठन गरेको समितिले अध्ययन पछि तयार गरिने प्रतिवेदन बोर्लोग इन्स्टिच्युट फर साउथ एसियालाई पनि दिने र त्यसको आधारमा सहयोग अदानप्रदान गरिने समझदारी भएको उहाँले बताउनुभयो ।