• १९ वैशाख २०८१, बुधबार

एम्बुलेन्स र स्कुल बस उपहार

blog

कोकिला भण्डारी

धनकुटा, वैशाख ३ गते । भारतीय राजदूतावासले एक कार्यक्रमका साथ काठमाडौंमा धनकुटा जिल्लाका लागि तीन थान स्कुल बस र एक थान एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स र स्कुल बस उपहार स्वरूप हस्तान्तरण गर्न आयोजित एक समारोहमा धनकुटालाई पनि उपहारस्वरूप स्कुल बस र एम्बुलेन्स प्रदान गरिएको हो । 

अर्थमन्त्री वर्षमान पुनले महालक्ष्मी नगरपालिका २ मुलखर्कस्थित सञ्चालनमा आएको श्री शारदा माध्यमिक विद्यालयका लागि उपहारस्वरुप हस्तान्तरण गरिएको स्कुल बसको चाबी महालक्ष्मी नगरपालिकाका नगरप्रमुख ध्रुवराज रायालाई हस्तान्तरण गर्दै बस हस्तान्तरण गर्नुभएको छ भने महालक्ष्मी नगरपालिका ५ साल्घारीस्थित अरुणाेदय माध्यमिक विद्यालयका लागि दिइएको स्कुल बसको चाबी विद्यालयका प्रधानाध्यापक दीपेन्द्र ढकाललाई हस्तान्तरण गर्दै स्कुल बस हस्तान्तरण गर्नुभएको छ । 

यसैगरी गत वर्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय स्तरमा उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएको धनकुटा नगरपालिका ६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयका लागि दिइएको स्कुल बसको चाबी विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंलाई हस्तान्तरण गर्दै विद्यालयका लागि बस हस्तान्तरण गर्नुभएको महालक्ष्मी नगरपालिका २ का वडा अध्यक्ष तथा श्री शारदा माध्यमिक विद्यालय मूलखर्कको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम रखालले जानकारी दिनुभयो । 

उहाँका अनुसार शैक्षिक सुधार र सामुदायिक विद्यालय प्रतिको सकारात्मक सोच र सुधारको लागि बस सञ्चालनबाट सामुदायिक विद्यालयलाई थप प्रोत्साहन मिल्ने छ । उक्त बस आज धनकुटा आइपुगेको छ । सोही अवसरमा साँगुरिगढी गाउँपालिकालाई एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ । उक्त एम्बुलेन्सको चाबी पालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीलाई हस्तान्तरण गर्दै एम्बुलेन्स हस्तान्तरण गरिएको हो । उक्त साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप हस्तान्तरण गर्न आयोजित समारोहमा भारतीय राजदूतावासले नेपालभरि १०० भन्दा बढी स्कुल बस, एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रममा धनकुटालाई पनि उपहार प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका नगर प्रमुख ध्रुवराज रायाले बताउनुभयो । 

नेपाल सरकारको अर्थ मन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महालक्ष्मी नगरपालिका नगर प्रमुख ध्रुवराज राया, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली, शारदा मावि, अरुणोदय मावि, गोकुन्डेश्वर माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थितिमा बसको चाबी हस्तान्तरण गरिएकोे थियो ।