• २१ वैशाख २०८१, शुक्रबार

सूचना प्रविधिको सम्भावना

blog

एक अध्ययन अनुसार सन् २०२२ मा नेपालबाट ५१ करोड ५४ लाख अमेरिकी डलर अर्थात् ६८ अर्बको सूचना प्रविधि सेवा निर्यात गरिएको छ । यसबाट नेपालको आर्थिक विकासमा सूचना प्रविधिको सम्भावना प्रशस्त देखिएको छ । सूचना प्रविधिमार्फत गरिने काम छिटो, सजिलो, विश्वासिलो र कम खर्चिलो हुन्छ । सूचना प्रविधिको विकास भन्नु विशेष गरी सफ्टवेयरको विकास हो । सफ्टवेयरलाई मुख्य गरी दुई भागमा वर्गीकरण गरिएको छ । एप्लिकेसन सफ्टवेयर, जसले कुनै प्रोग्रामको आवश्यकता परिपूर्ति गर्छ भने अर्को सिस्टम सफ्टवेयर यसले कम्प्युटरको हार्डवेयर चलाउनका लागि मद्दत गर्छ । 

सूचना प्रविधिको यही प्रयोगले विश्वको अर्थतन्त्र फरक तरिकाले विकसित भएर परम्परागत विधिलाई नै चुनौती दिएको छ । आज हरेक काम सूचना र प्रविधिको माध्यमबाट मात्र गतिशील र विकसित भएको छ । त्यसैले अबको उद्यमशीलताको स्वरूप एप्लिकेसन, सिस्टम सफ्टवेयरका अतिरिक्त 

प्रोग्रामिङ सफ्टवेयर, मिडिल वेयर सफ्टवेयरको उत्पादन र बिक्रीवितरणको रूपमा पनि विकसित हुँदै छ । नेपालका १४ वर्षका रेमन प्रसाईले एउटा सफ्टवेयर बनाए, जसले महत्वपूर्ण दस्तावेजको गोपनीयता रक्षा गर्न सक्षम थियो; त्यसलाई गुगलले ३० लाख रुपियाँमा किनेको थियो । जब कि रेमनले यो बनाउने तरिका र प्रक्रिया अनलाइनबाट नै सिकेका थिए । सफ्टवेयर बनाउनका लागि उमेर, लगानीभन्दा बुद्धिको बढी प्रयोग हुन्छ । 

अहिले नेपालमा सूचना प्रविधिसम्बन्धी विषय अध्ययन गर्नेको सङ्ख्या बढेको छ । विदेश जानेहरू पनि यो बिषय पढ्ने धेरै छन् । त्यसैले यो विषय पढेका विद्यार्थीहरूबाट देशमा आर्थिक विकासको आशा पलाएको छ । यसमा कसरी काम गर्ने भन्ने कुरा त्यो विषय पढेका विद्यार्थी र रेमन जस्ता जिज्ञासुलाई मात्र थाहा हुन्छ तर यसको सम्भावनाको क्षेत्र यति व्यापक छ कि यसको बारेमा जो कोहीले अनुमान गर्न कठिन छ । हालै अर्थमन्त्रीले पाँच वर्षभित्र नेपालले पाँच खर्ब बराबरको सफ्टवेयर बेच्न सक्ने गरी काम भइरहेको भन्नु भएपछि यो क्षेत्रमा लागेका व्यक्तिहरूलाई उत्साह मिलेको छ । 

सफ्टवेयरको विकासका लागि सडक, पानी, बिजुली, ट्रान्समिसन लाइन जस्तो देखिने गरी काम गर्नु पर्दैन । एउटा कोठामा बसेर कम्प्युटर इञ्जिनियरहरूले मानिसका लागि उपयोगी हुने सफ्टवेयर बनाउन र बेच्न सक्छन् । सुरु सुरुमा सफ्टवेयर पनि फ्लोपी, सिडी आदिबाट एक ठाउँबाट अर्को ठाउँ लगिन्थ्यो । अहिले सिधै डाउनलोड गरेर यसको प्रयोग गर्न सकिन्छ, जसले गर्दा भौगोलिक विकटता र भूपरिवेष्टितताले सूचना प्रविधिको व्यापारलाई असर गर्दैन ।

शिक्षा, स्वास्थ्य, निर्णय प्रक्रिया, अभिलेख व्यवस्थापन, यातायत, भन्सारको आसिकुडा, सुरक्षा प्रणाली, लेखा व्यवस्थापनलगायतका क्षेत्रमा अहिले सूचना प्रविधिले आफ्नो प्रभाव फैलाएको छ । यसमध्ये कुनै एक क्षेत्रमा गहन अध्ययन गरेर काम गर्न सक्ने हो भने नेपालीले आफ्नो आर्थिक अवस्था परिवर्तन गर्ने अवसर प्राप्त हुन सक्छ । सफ्टवेयर इन्जिनियरहरू यस क्षेत्रमा काम गरिरहेका छन् र उनीहरू तत्काल आर्थिक समस्याको कारणले आफ्नो काम पूरा गर्न असमर्थ छन् भने तीनै तहको सरकारले सहयोग गर्ने वातावरण पनि बनाउनु पर्छ । यस क्षेत्रमा लागेकाहरूले पनि नयाँ सृजनशीलताको माध्यमबाट यस्तो सफ्टवेयर बनाउन सकून्, जुन विश्वका सबैलाई आवश्यक होस् । जस्तै यो लेख तयार पार्दा प्रयोग भएको माइक्रोसफ्ट वर्ड सफ्टवेयर हो । यस्तै अनेक सफ्टवेयरबाट हामी घेरिएका छौँ । विश्वबजारमा अबको सफ्टवेयर नेपालबाट पनि धेरै बिक्री होस् भन्ने नै हो । 

सूचना प्रविधिको क्षेत्र दिनानुदिन विस्तार हुँदै गएको छ । समृद्ध हुँदै गएको छ । कृषि उत्पादन, हिसाबकिताब हरेक क्षेत्रमा सफ्टवेयरको प्रयोग बढ्नु यसको विस्तार हो भने यसको म्यानुयल पद्धति विश्लेषणात्मक क्षमतामा विस्तार हुनु (जस्तै एआइको विकास) यसको समृद्धि हो । नेपालले यी दुवै क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता छ । नेपालीमा त्यो क्षमता छ भन्ने कुरा सफ्टवेयर व्यापारको आँकडाले पुष्टि गरेको छ । देशको जिडिपीमा आज १.५ प्रतिशत हिस्सा सूचना प्रविधि क्षेत्रले ओगटेको छ भने २०८० असारमा नेपालले तयार पारेको व्यापार एकीकृत रणनीतिले निर्यात सम्भाव्यताको दोस्रो स्थानमा सूचना तथा प्रविधिसम्बन्धी सेवालाई राखिएको छ । त्यसैले देश विकासको एक प्रबल सम्भावना यो क्षेत्रमा देखिएको छ । 

यो क्षेत्रको उत्थानका लागि १६ औँ पञ्चवर्षीय योजना र आउँदो बजेटमा यसलाई प्राथमिकता दिएर सर्जकहरूलाई उत्साह र हौसला दिन जरुरी छ । काम गर्ने भनेको जनताले नै हो । औषधी जसले बनायो, इन्टरनेट जसले बनायो, च्याट जिपिटी जसले बनायो ऊ सामान्य व्यक्ति नै हो । नयाँ कुरा बनाउन कोही मङ्गल ग्रहबाट आएको होइन । यो सबै मानिसले गरेको प्रयासबाट सम्भव भएको हो । 

पक्कै पनि सफ्टवेयर बनाउनका लागि आइक्युको लेभल बढी हुनु पर्छ । कुनै पनि आविष्कार र निर्माणको काम गर्दा दिमागको स्तर माथि हुनै पर्छ । कुनै क्रियाकलापबाट कस्तो परिणाम आउँछ, त्यसको असर कहाँ कहाँ पर्छ भन्ने कुरा प्रयोगशालाबाट पुष्टि हुने हो तर आइक्युको लेभल बढी भएको व्यक्तिले सचेत भएर काम गर्दा परिणाम हात पर्छ । अहिलेको सफ्टवेयरको व्यापार व्यक्तिगत प्रयासको परिणति हो । यसलाई उन्नत बनाउन अब राज्यले अहम् भूमिका निर्वाह गर्न सक्नु पर्छ । 

कोभिडको महामारीपछि यो व्यवसायमा पनि व्यापक रूपमा कमी आएको छ तर युवाले आफ्नो प्राविधिक तीक्ष्णताको माध्यमबाट मन्दीको बेलामा पनि आवश्यक पर्ने तरिकाले 

सफ्टवेयर बनाउन जरुरी छ । योबाहेक इन्जिनियरहरूले अनलाइन कामबाट पनि कमाउन सक्छन् । विश्व आर्थिक मञ्चको प्रक्षेपण अनुसार आगामी दशकभित्र ७० प्रतिशत काम कुनै न कुनै रूपमा सूचना प्रविधिसँग जोडिने हुँदा अबको युवा अन्य पढाइका अतिरिक्त कम्प्युटर साइन्स र आइटीमा विज्ञ हुन जरुरी छ । 

जसरी अहिले उच्च तहका कर्मचारीका लागि गाडी चलाउन छुट्टै ड्राइभर चाहिँदैन उनीहरू आफैँ चलाउँछन्, त्यसै गरी अबका दिनमा सबै प्रकारको पढाइसँग कम्प्युटरको ज्ञान पनि समानान्तर रूपमा चाहिन्छ । यो प्राविधिक विषय हो । यो अभ्यासमा आधारित हुन्छ । त्यसैले अबका दिनमा डाक्टर, इन्जिनियर, सिए आदि जुनसुकै पेसामा भए पनि सूचना प्रविधिमा पोख्त भई आफ्नो कार्य आफैँ गर्नु पर्छ । 

आजका दिनमा कम्प्युटर र सूचना प्रविधि जीवनसँग धेरै नजिक भइसक्यो । त्यसैले हरेक पाठ्यक्रममा यसलाई पनि समानान्तर जोड्ने प्रयास गर्दै जानु पर्छ र कुनै पनि विषयको प्रमाणपत्र लिँदा कम्प्युटरको ज्ञान पनि सँगै हुनु पर्छ । यस्तै प्रयासबाट नेपालीले सूचना प्रविधिको क्षेत्रमा मनग्गे कमाउन सकून् र सूचना प्रविधि नेपालको अर्थतन्त्र फैलाउने आधार बनोस् ।

  

Author

रामप्रसाद गौतम