• ९ मंसिर २०८१, आइतबार

डिजिटल मिडियामा व्यक्तिको खुबी

blog

समाजशास्त्रमा प्रयुक्त ‘इन्डिभिजुयल एजेन्सी’ भनिने प्राज्ञिक पदावलीले व्यक्तिको खुबीलाई इङ्गित गर्छ । त्यो जीवन सञ्चालनका क्रममा व्यक्तिले गर्ने विविध क्रियाकलापमा निर्णय लिने क्षमताका रूपमा प्रकट हुन्छ । शिक्षा हासिल गर्दा, राजनीतिक धार पक्रँदा, पेसा वा व्यवसाय अङ्गाल्दा, स्वास्थ्यसम्बन्धी व्यवहार गर्दा, वा पारिवारिक व्यवस्थापन गर्दा व्यक्तिले आफ्नो विद्यमान ज्ञान, सिप, अनुभव, विश्वास, अभिरुचि, आदिका आधारमा निर्णय लिन्छ । समाज किन पछाडि पर्छ, वा अगाडि बढ्छ भन्ने प्रश्नले त्यस समाजका मानिसको व्यक्तिगत निर्णय क्षमता कुन हदसम्म विकसित छ वा छैन भन्ने विषयसँग पनि नजिकको सम्बन्ध राख्छ । त्यसैले होला नोबेल पुरस्कार पाएका प्रसिद्ध अर्थविद् अमत्र्य सेनले व्यक्तिको खुबी वृद्धिमा जोड दिएका नागरिकको क्षमता वृद्धि गर्न राजनीतिक, आर्थिक, सामाजिक, संस्कृतिक, मिडिया तथा सूचनालगायतका क्षेत्रमा पहुँच, अवसर र वातावरण निर्माणमा सेनको जोड रहेको देखिन्छ । यसै सन्दर्भमा व्यक्तिको खुबी वृद्धिमा डिजिटल मिडियाको भूमिका खोज्नु मनासिव देखिन्छ ।

समाचार पोर्टल, संस्था वा व्यक्तिको वेबसाइट, सामाजिक सञ्जाल अन्तर्गतका प्लेटफर्म, लाइब देखाउने स्ट्रिमिङ साइट, अनलाइन रेडियो तथा टेलिभिजन, ई बुक, इमेल आदि डिजिटल मिडियाका उदाहरण हुन् । त्यस्तै डिजिटल रूपमै उत्पादन, सञ्चय, वितरण वा प्रसारण गरिने पाठ्यवस्तु, तस्बिर, श्रव्यदृश्य सामग्री पनि डिजिटल मिडियाकै रूप हुन् । परम्परागत मिडियाको तुलनामा डिजिटल मिडियाको प्रयोग दोस्रो र तेस्रो पुस्ताले बढी गरिरहेको छ । त्यसैले यस सम्बन्धमा पर्याप्त अन्वेषण, अध्ययन अनुसन्धान र मार्गदर्शनमा समेत लगानी आवश्यक छ ।

डिजिटल मिडिया उच्च प्राथमिकतामा राखेर संसदीय विमर्श, प्राज्ञिक अध्ययन एवं विश्लेषण र नीतिनिर्माण गर्नु वर्तमान लोकतान्त्रिक युगको जल्दोबल्दो विषय हो । नेपालमा स्थानीय तहले पनि आआफ्नो आधिकारिक वेबसाइट सञ्चालन गर्न थालेका छन् । आफ्ना आधिकारिक वेबसाइट नभएका मुलुक पनि संसारमा होलान् र ? नेपाल सरकारका पनि वेबसाइटहरू छन्, जसबाट कतिपय महत्वपूर्ण सूचना प्राप्त गर्न सकिन्छ, भलै सुधार्नु पर्ने धेरै छन् । यस प्रकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि डिजिटल मिडियामार्फत सम्बन्ध अगाडि बढिरहेको विषय नौलो रहेन । यसबाट विश्वमा डिजिटलीयकरण तीव्र गतिमा बढ्दै छ भन्ने बुझिन्छ ।

युएन अन्तर्गतको इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको सन् २०२३ को रिपोर्ट अनुसार विश्वको आठ अर्ब जनसङ्ख्यामध्ये करिब ३३ प्रतिशत मानिस अझै इन्टरनेटसँग जोडिएका छैनन् । इन्टरनेटसँग गाँसिनु र डिजिटल मिडियामा पहुँच राख्नु तात्त्विक रूपमै फरक कुरा हुन् । यद्यपि इन्टरनेटको उपलब्धतासँगै डिजिटल मिडियामा जनताको पहुँच बढ्ने सम्भावना बढेर जान्छ । पछिल्लो समयमा डिजिटल मिडियामा मनोरञ्जन उद्योगले व्यापकता पाइरहेको छ । डिजिटल मिडियालाई मनोरञ्जनसँग गाँसेर बुझ्ने प्रवृत्ति प्रबल देखिन्छ । अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, सङ्गठनात्मक सञ्चार र आमसञ्चार क्षेत्रले पनि परम्परागत ढाँचाबाट डिजिटलतर्फ फड्को मारिरहेका छन् । समाजको मूल सञ्चार प्रणाली नै डिजिटल माध्यमतिरै स्थानान्तरण हुने स्थिति बनेको सन्दर्भमा डिजिटल मिडियाको बहुआयामिक प्रयोग र प्रभावबारे बेवास्ता गर्न सकिन्न । समाजको मानसिक, नैतिक तथा भौतिक विकासका निम्ति कसरी प्रयोग गर्ने भन्नेतर्फ अबको चिन्तन मोडिनु पर्छ । 

व्यक्तिको खुबी (इन्डिभिजुअल एजेन्सी) नागरिकको बहुआयामिक विकाससँग गाँसिएको विषय हो । नागरिकको बहुआयामिक विकासको महत्वपूर्ण पुँजी र माध्यम डिजिटल प्रविधि पनि हो । नेपाल पनि ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यक्रम लिएर अगाडि बढिरहेको छ । सरकारले सूचना प्रविधिमा प्रत्यक्ष विदेशी लगानी पनि आह्वान गरेको छ । हुन पनि आजको डिजिटल युगमा डिजिटल प्रविधिमै पछाडि पर्ने हो भने धरै कुरामा पछाडि परिन्छ । देशको समग्र क्षेत्रमा डिजिटल प्रविधिको उपस्थिति आवश्यक महसुस हुन थालिसकेपछि स्वतः स्पष्ट हुन्छ कि अब डिजिटल मिडियाको क्षेत्रमा प्रतिस्पर्धात्मक गतिमा अगाडि बढ्नुको विकल्प छैन । यस सिलसिलामा गृहकार्य स्वरूप शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत क्षेत्रमा सबै नेपालीको पहुँच सुनिश्चित गर्दै डिजिटल प्रविधि र मिडियामा पनि नेपालीको गतिशील सहभागिता अधिकाधिक बढाउन अग्रणी नीति चाहिन्छ ।

सबै नागरिकको व्यक्तिगत गुण र खुबीलाई एकै ठाउँमा जोड्दा समग्रमा जुन स्तर बन्छ त्यो नै राष्ट्रको विकासको स्तर हो । त्यसैले सेनले भने झैँ व्यक्तिको क्षमता वृद्धि नै विकासको द्योतक हो भनेर मान्न सकिन्छ । नेपालको सन्दर्भमा पनि अन्यत्र जस्तै डिजिटल मिडियामा जनताको पहुँच बढ्दै छ । एक अन्तर्राष्ट्रिय तथ्याङ्क प्रदायक डाटा रिपोर्टलका अनुसार नेपालमा यसै वर्षको जनवरीसम्ममा करिब एक करोड ५४ लाख इन्टरनेट प्रयोगकर्ता रहेको देखिन्छ । यो जनसङ्ख्याको ४९.६ प्रतिशत हुन आउँछ । नेपालमा इन्टरनेट चलाउन सक्रिय उमेर समूह १३ देखि ५४ वर्षसम्मको जनसङ्ख्या ६२.६ प्रतिशत रहेको सन्दर्भमा डिजिटल मिडियामा रहन जाने पहुँच र प्रयोगकर्ताको क्षमतावृद्धिबिच गहिरो अन्तरसम्बन्ध रहने कुरा निर्विवाद छ ।

डिजिटल मिडियाको उपयोगितालाई गाँसेर कोभिड–१९ महामारीकै प्रसङ्ग पनि स्मरण गर्न सकिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार सन् १९१८–१९१९ को दौरानमा फैलिएको स्पेनिस फ्लु विश्वभरि करिब ५८ करोड मानिसमा सङ्क्रमण हुँदा मर्नेको सङ्ख्या करिब पाँच करोड पुगेको थियो । यता सन् २०२० मा फैलिएर महामारीको रूप लिएको कोभिड–१९ का कारण संसारभरि मर्नेको सङ्ख्या करिब ७० लाख पुग्यो । मर्नेको सङ्ख्यामा ठुलो अन्तर देखिए पनि दुवै महामारी अवश्य दुःखद थिए । आजभन्दा १०६ वर्षअघि अर्थात प्रथम विश्व युद्धको अन्त्यतिर फैलिएको स्पेनिस फ्लुको महामारी सम्बन्धमा त्यतिखेरको सञ्चार प्रक्रिया तथा सूचना सम्प्रेषण कस्तो थियो होला ? सन् १९२० को दशकमा बल्ल रेडियो प्रसारण अमेरिका र युरोपका सीमित क्षेत्रमा सुरु भएको हो । बिबिसीले सन् १९२२ मा रेडियो प्रसारण सुरु गरेको थियो । यसबाट बुझ्न सकिन्छ कि त्यतिखेर सञ्चार तथा सूचना प्रणाली छापा र अन्य परम्परागत माध्यममा निर्भर थियो तर २१ औँ शताब्दीको डिजिटल सञ्चार तथा सूचना प्रणालीले कोभिड–१९ को महामारीबाट मानिस बचाउन विशेष भूमिका खेलेको स्विकार्न हिच्किचाउनै पर्दैन । 

सन् १९१८ को महामारीबाट त्यतिखेरको विश्व जनसङ्ख्या एक अर्ब ८० करोडको २७.८ प्रतिशत सङ्क्रमित भएको थियो भने कोभिड–१९ बाट अहिलेको विश्व जनसङ्ख्या आठ अर्बको ०.०८७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । यसले विविध सूचाङ्क इङ्गित गर्न सक्ला सङ्क्रमणबाट त बाँच्न त पूर्वसजगता नै पहिलो कुरा भएकोले सोको लागि सूचना अकाट्य आवश्यकता हो । छिटोछरितो र हात हातमा, घर घरमा सूचना प्रवाहित गरेर विश्व जनसङ्ख्याको यथाशक्य ठुलो हिस्सालाई कोभिड–१९ को सङ्क्रमणबाट जोगाउन डिजिटल मिडियाको उल्लेख्य भूमिका छ । 

सूचना नै शक्ति हो भन्ने उक्तिमा तुक छ । जुन समाज सूचनाको मामलामा अग्रणी छ, त्यसैको बढी विकास हुन्छ । मानिससँग विविध अनुभव, कल्पना, चिन्तन र खोजबाट प्राप्त आविष्कार हुन्छन् । तिनलाई डिजिटल मिडियाले संसारभरि द्रुतर गतिमा प्रवाहित गर्न सक्छन् । भौगोलिक एवं समयको सीमा तथा अवरोधमाथि विजय गरी संसारका कुना कुनाका मानिसलाई आपसमा गाँस्ने डिजिटल मिडियाले आफैँमा क्रान्ति गरेको छ । सामाजिक सञ्जालदेखि अनलाइन समाचार पोर्टलसम्म डिजिटल मिडिया हाम्रो जीवनमा अन्तर्घुलित भएको छ । यसबाट हाम्रा दृष्टिकोण, व्यवहार र निर्णय प्रक्रियासमेत प्रभावित भएका छन् । विकास र स्वावलम्बनतर्फ अगाडि बढ्ने नेपाली चाहना छ । नेपालीको व्यक्तिगत खुबी वृद्धि गर्नु यसका निम्ति आवश्यक छ ।

नागरिकको व्यक्तिगत खुबी त्यत्तिकै बढ्दैन । अहिलेको सन्दर्भमा एउटा सशक्त औजार डिजिटल मिडिया नै हो । बग्रेल्ती सूचना प्रवाह, सञ्चारको सहजीकरण र अभिव्यक्तिलाई सशक्तीकरण गर्ने क्षमता डिजिटल मिडियाको एक प्रमुख विशेषता हो । यस कारण, व्यक्तिको क्षमता वृद्धि गर्ने उत्प्रेरक तत्व डिजिटल मिडिया हो । सुसूचित रहने, शिक्षित हुने, सिप सिक्ने, अनुभव साटासाट गर्ने, सन्तुलन र भातृत्वको अभ्यास गर्ने तथा मानव समाजको विविधतासँग परिचित बन्ने आदि अवसर डिजिटल मिडियाले दिन्छ । तिनको उचित प्रयोगले नागरिकको व्यक्तिगत खुबी बढ्छ, जुन राष्ट्रको विकासको एकाइ हो ।

राज्यले विद्यालय तहदेखि नै डिजिटल मिडियासम्बन्धी साक्षरता प्रदान गर्ने शैक्षिक नीति लागु गर्नु पर्छ । सरकारले गर्न लागेको लगानी सम्मेलनमा नेपालको नयाँ पुस्ताको व्यक्तिगत खुबी वृद्धि गर्ने प्रकृतिका डिजिटल प्रविधिमा पनि पहल गर्नु पर्छ । त्यस्तै विचाराधीन ई कमर्ससम्बन्धी विधेयकलाई नेपाली युवाको डिजिटल प्रविधिसम्बन्धी उद्यमशीलतालाई ह्वात्तै बढाउने ठोस उद्देश्यसहित परिमार्जन गर्नु वाञ्छनीय छ ।  

Author

मोहन नेपाली