• २१ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय तेक्वान्दोमा सङ्गम र सौरवलाई स्वर्ण

blog

विजेतालाई पदक प्रदान गरिँदै ।

काठमाडौँ, वैशाख २ गते । चन्द्रागिरिका सङ्गम थापामगर र सौरव मल्ल ठकुरीले चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता स्वर्ण जित्नुभएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको प्रतियोगितामा क्योरोगीतर्फ चन्द्रागिरिका सङ्गमले पुरुष ३१ केजी तौलसमूह र सौरवले पुरुष २८ केजी तौलसमूहमा स्वर्ण जित्नुभएको हो । 

सङ्गमले फाइनलमा पर्वतका प्रसन थापालाई हराउनुभयो । सौरवले भने फाइनलमा धुलिखेलका रिजन शिवभक्तलाई पराजित गर्नुभयो । नेसनल तेक्वान्दो एकेडेमीका अर्थ कुइँकेल र रोज तितुङले कांस्य पदक जित्नुभयो । 

यस्तै पुरुषकै २२ केजी तौलसमूहमा सिन्धुपाल्चोकका कुशल नेपाली र २५ केजी तौलसमूहमा ककनीका सुवास तामाङले स्वर्ण चुम्नुभयो । फाइनलमा कुशलले कोटेश्वर डोजाङका अनमोल केसी हराउनुभयो । यसै तौलमा प्राञ्जलीका अंकितबाबु अधिकारी र हिमाल पाण्डेले कांस्य पदक जित्नुभयो । सुवासले भने फाइनलमा नेसनल तेक्वान्दो एकेडेमीका आहन तामाङलाई पराजित गर्नुभयो । 

महिला जुनियर ३१ केजी तौलसमूहमा चन्द्रागिरिकी सेजल रोक्काले फाइनलमा पर्वतकी कृतिका थापालाई हराउँदै स्वर्ण जित्नुभयो । कञ्चनपुरकी पूजा सार्की र नवजीवनकी रोश्नी आचार्यले कांस्य पदक जित्नुभयो । जुनियर महिला २८ केजीमा सुदूरपश्चिमकी दीपिका थापा र २५ केजीमा चन्द्रागिरिकी नेओमी महर्जन स्वर्ण पदक जित्नुभयो । 

फाइनलमा दीपिकाले दोलखाकी अर्पणा कुमाल र नेओमीले चन्द्रागिरिकै मारिया तामाङलाई हराउनुभयो । दीपिकाको तौलसमूहमा नेसनल तेक्वान्दो एकेडेमीकी श्वेनी लामा र बैभारी सापकोटाले कांस्य पदक जित्नुभयो । 

जुनियर महिला २२ केजीमा नेसनल तेक्वान्दो एकेडेमी (एनटिए) की पुनम घिमिरेले पर्वतकी ट्विन्कल मल्ललाई हराउँदै स्वर्ण पदक जित्नुभयो । चन्द्रागिरिकी लियाना आलेमगर र मुस्कान सेवाकी देविका आलेमगरले कांस्य पदकमा चित्त बुझाउनुभयो । 

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को सहयोगमा भएको प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष/महिलामा समान ६/६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको हो । प्रतियोगितामा क्योरोगी र पुम्सेमा गरी कूल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । 

यस प्रतियोगिताबाट पुम्सेबाट एक एक पुरुष र महिला तथा ग्योरोगीको सिनियर स्पर्धाबाट दुई पुरुष र दुई महिला खेलाडी आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियामा आयोजना हुने इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा छनोट हुने आयोजकले जनाएको छ । साथै छनोट हुने ६ खेलाडीले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

प्रतियोगिताको शीर्ष तीन टोलीलाई क्रमशस् एक लाख, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगितामा देशभरबाट ६ सय खेलाडीको सहभागिता रहेको छ ।