• २१ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति रनिङ सिल्डलाई भव्य बनाउन जोड

blog

राष्ट्रपति रनिङ सिल्डमा सहभागी खेलमा पदाधिकारीसँग छलफल गरिँदै ।

काठमाडौं, वैशाख २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले राखेपको आयोजनामा मङ्गलबारदेखि सुरु हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर भव्य रुपमा सफल बनाउनु पर्नेमा जोड दिनुभएको छ । 

प्रतियोगितामा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका राष्ट्रिय खेल सङ्घका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आइतबार भएको बैठकमा सदस्य सचिव घिसिङले सो कुरा बताउनुभएको हो । 

‘‘राष्ट्रपति रनिङ सिल्ड जुनियरको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसलाई भव्य र सफल बनाउनु हामी सबैको कर्तव्य हो । सबै मिलेर प्रतियोगितालाई सफल बनाऔँ । सदस्यसचिव घिसिङले भन्नुभयो–‘‘प्रतियोगितासँग सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु जरुरी छ ।’’

सदस्य सचिव घिसिङले स्थानिय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भई हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताउँदै खेलाडीको अनुसन्धानका लागि राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टिमलाई परिचालन गरिने बताउनुभयो । 

उहाँले सहभागिता, पारदर्शी र जवाफदेहीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउँदै आगामी दिनमा खेलाडीलाई खाना/बसोवास बाहेक ‘पकेट मनी’ को पनि व्यवस्था गर्ने विषयमा परिषद्ले योजना बनाइरहेको बताउनुभयो । रनिङ सिल्डको दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुनेछ ।