• २२ वैशाख २०८१, शनिबार

प्रदेशस्तरीय मेयरकप साइक्लिङको उपाधि बोहरा र बुढामगरलाई

blog

प्रदेशस्तरीय मेयर कप अपहिल साइक्लिङ प्रतियोगिताका विजेता। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २ गते। प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगीको उपाधि पुरुषतर्फ देवबहादुर बोहरा र महिलातर्फ हुमी बुढामगरले जितेका छन्।

बोहराले निर्धारित २३ किमीको दुरी ५६ मिनेट १९ सेकेण्डमा पार गर्दै प्रथम हुनुभयो। सोही दुरी १ घण्टा ९ मिनेट १८ सेकेण्डमा पार गर्दै महिलातर्फ बुढामगर प्रथम भएको आयोजक स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरले जनाएको छ।

कोहलपुर नगरपालिकाको मुख्य प्रायोजन तथा गोरखा युनाइटेड पब्लिक स्कुल, कोहलपुर र नागरिक पोलिक्लिनिक, कोहलपुरको सहप्रायोजनमा नयाँ वर्षको अवसर पारेर भएको प्रतियोगितामा पुरुषतर्फ जंगु थारु द्वितीय र गगन नेपाल तृतीय हुनुभयो। महिलातर्फ रुपा थारु द्वितीय र टिका थारु तृतीय हुनुभयो। पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ३०, २५ र २० हजार रुपियाँ, र प्रमाणपत्र पाउनुभयो।

स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरले दोस्रो पटक आयोजना गरेको प्रतियोगितामा  लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका २८ खेलाडी सहभागी थिए। पुरुष १९ जना र महिला ९ जना प्रतियोगितामा सहभागी भएको स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरका संरक्षक केशर बहादुर आलेले बताउनुभयो।