• २१ वैशाख २०८१, शुक्रबार

योगदानमा आधारित सामाजिक सुरक्षा योजना, आठ अर्ब छपन्न करोड भुक्तानी

blog

काठमाडौँ, वैशाख २ गते । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत आठ अर्ब ५६ करोड रुपियाँ भुक्तानी गरेको छ । योगदानमा सुरक्षा योजना लागु गरेको पाँच वर्षको अवधिमा ५२ अर्ब ८९ करोड रुपियाँ सङ्कलन गरेको कोषले विभिन्न चार वटा योजनाका लागि कोषमा सङ्कलित रकमको १५ प्रतिशत भुक्तानी गरेको हो । 

सामाजिक सुरक्षा कोषका अनुसार सुरक्षा योजना अन्तर्गतका विभिन्न श्रमिक तथा उनीहरूका परिवारलाई दिएको भुक्तानीमा आठ अर्ब ५६ करोड रुपियाँ खर्च भएको छ । कोषले विभिन्न चार योजनामा यस्तो भुक्तानी दिने गरेको छ । कोषका सूचना अधिकारी उत्तमराज नेपालले कोषमा सङ्कलन भएको रकमबाट मागदाबी अनुसार रकम भुक्तानी भएको बताउनुभयो । 

कोषले हाल सबैभन्दा बढी अवकाश दाबी भुक्तानी अन्तर्गत एक लाख ३६ हजार ६८३ जनालाई आठ अर्ब ७३ करोड रुपियाँ भुक्तानी गरेको जनाएको छ । यसै गरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत ५९ हजार ४२७ जनाले पटक पटक गरेर ९९ करोड ८६ लाख ९० हजार १५५ रुपियाँ भुक्तानी लिएका छन् । दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत चार हजार ९३० जनाले ११ करोड ६० लाख ४५ हजार ५७१ रुपियाँ भुक्तानी लिएका छन् ।

आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ४८० जनाले १३ करोड २९ लाख ३० हजार ९०६ रुपियाँ भुक्तानी लिएका छन् । त्यसै गरी वृद्धावस्था सुरक्षा योजना अन्तर्गत ७८ हजार ९९० जनाले सात अर्ब ३१ करोड ८५ लाख १९ हजार १३८ रुपियाँ भुक्तानी लिएका छन । 

कोषमा हालसम्म १८ हजार ८४२ रोजगारदाता र १२ लाख ७४ हजार ९८४ योगदानकर्ता सूचीकृत भएका छन् । जसमा सबैभन्दा धेरै वैदेशिक रोजगारीतर्फका  सात लाख ८२ हजार ५४० जना रहेका छन् भने औपचारिकतर्फका चार लाख ९२ हजार ०८७ जना आबद्ध भएका छन् भने अनौपचारिक र स्वरोजगारतर्फका क्रमशः २७१ जना र ८६ जना रहेका छन् ।