• २० वैशाख २०८१, बिहिबार

थारू हस्तकला प्रवर्धन गर्न बृजा ताल महोत्सव

blog

खाना महोत्सवको समुद्घाटन गर्दै पूर्वमन्त्री आचार्य । तस्बिरः जानु पाण्डे

जानु  पाण्डे

कपिलवस्तु, वैशाख १ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव सञ्चालन गरिएको छ । 

शनिवारदेखि नगरपालिकाको वडा ९ बक्लीपुरमा रहेको पर्यटनउन्मुख क्षेत्र बृजा तालसँगै थारु हस्तकला, संस्कृति र खानाको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो ।

महोत्सवको उद्घाटन पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्नुभयो । थारु संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै पर्यटनसँग जोड्नु पर्ने उहाँले बताउनुभयो । हरियाली सामुदायिक वनको स्वामित्वमा रहेको बृजा तालमा पर्या पर्यटनको विकास गर्न र तालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न जरुरी देखिएको आचार्यले चर्चा गर्नुभयो । 

कार्यक्रममा थारु समुदायमा अगुवाहरूले सिँचाइका लागि निर्माण गरिएको ताल अहिले पिकनिक स्पटको रूपमा विकास भएको बताउनुभयो । बक्लीपुर थारु होमस्टेको प्रचार प्रसार र ताल र नजिकको वन क्षेत्रलाई बोटानिकल गार्डेनको रूपमा विकास गर्ने लक्ष्य रहेको हरियाली सामुदायिक वनका अध्यक्ष मिना थारुले बताउनुभयो ।

तीन दिनसम्म चल्ने खाना महोत्सवमा थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री, थारु संस्कृति तथा सभ्यता प्रदर्शनी र थारु परिकारको स्वाद चाख्न पाइने आयोजक तथा थारु गायक श्री निवास थारुले बताउनुभयो ।