• १४ जेठ २०८१, सोमबार

महाकुम्भ मेलाको प्रथम शाही स्नान सम्पन्न

blog

बाह्रवर्से पूर्ण महाकुम्भ मेलाको प्रथम शाही स्नान कोका कौशीकी संगममा गरिँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, वैशाख १ गते । 
वराहक्षेत्रस्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्से पूर्ण महाकुम्भ मेलाको प्रथम शाही स्नान गरिएको छ । शनिबार बिहान बाजागासहित वराहक्षेत्र मन्दिरको कोका कौशीकी सङ्गममा पुगेर महास्नान गरिएको हो ।

शाही स्नान गर्न चतराधाम बाट सयौँको सङ्ख्यामा बाजगाजासहित भजन कीर्तन गर्दै स्नानमा जगत् गुरु बालसन्त मोहन शरण देवाचार्य, भारतका धर्म रत्न गोपाल शरण देवाचार्य, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की, उप प्रमुख नन्द कुमारी सुनुवार, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको उपस्थिति रहेको थियो ।

शाही स्नानमा धर्माचार्य, सन्तमहन्त, पीठाधीश, मठाधिश, भक्तजनहरू लगायत स्थानीय बासीहरूले कोका कौशीकी सङ्गममा महास्नान गर्नुभएको छ । महास्नान गर्न अघिल्लै दिन कुम्भ नगरी चतरा धाममा आइपुगेका मानिसहरूले कोका कौशीकी सङ्गममा विधि विधानपूर्वक महास्नान गरेका छन् ।

चैत्र २७ गतेदेखि २०८१ वैशाख २८ गते सम्म लाग्ने कुम्भ मेलामा मुख्य पाँच स्नान रहेका छन् । पहिलो स्नान कुम्भ प्रारम्भको दिन चैत २७ गते गरिएको छ । प्रथम कुम्भ स्नान २०८१ वैशाख १ गते गरिएको हो ।

महिना दिनसम्म लाग्ने महाकुम्भ मेलामा पाँच दिन कुम्भ स्नानका विशेष दिनहरू रहेका छन् । कुम्भमा नुहाए अक्ष प्राप्ति हुने मान्यता रहेकाले मानिसहरू देश विदेशबाट कुम्भ स्नान गर्न चतरा धाम आउने गरेको कुम्भ मूल आयोजक समितिले जनाएको छ । 

कुम्भ प्रारम्भ महास्नान चैत २७ गते भइसकेको छ । प्रथम कुम्भ महास्नान वैशाख १ गते, द्वितीय कुम्भ महास्नान वैशाख ११ गते कुम्भ नगरी क्षेत्रमा रहेको सप्तकोशी नदीमा विधिपूर्वक स्नान गरिने भएको छ । त्यस्तै तृतीय कुम्भ महास्नान वैशाख २६ गते मातातीर्थ औँसीको दिन र वैशाख २८ गते कुम्भ समाप्ति स्नान हुने कुम्भ मूल आयोजक समितिका सुरेन राईले जानकारी दिनु भयो ।

नेपालमा एक र भारतका चार गरी जम्मा पाँच स्थानमा लाग्ने गरेको कुम्भ मेला नेपालमा सुनसरीको वराहक्षेत्रस्थित चतरामा लाग्दै आएको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाको रूपमा सनातन हिन्दु धर्मलम्बीहरुले लिने गरेको कुम्भ मेलामा लाखौँ मानिसहरूको जमघट हुने बताइएको छ ।

प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालदेखि कुम्भको आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको हो ।

पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रूपमा रहेको कौशिकी तटको किनारमा लाग्ने कुम्भ मेलामा नेपाल र भारतका शङ्कराचार्य, धर्माचार्य, जगतगुरु, सन्तमहन्त, पीठाधीश, मठाधिश, विद्वान, विदुषीलगायत लगायत धार्मिक पर्यटकहरूको बाक्लो उपस्थिति हुँदै आएको छ । कुम्भ स्नान गर्नकै लागि भक्तजनहरू कुम्भ मेला आउने गरेका छन् ।