• १३ जेठ २०८१, आइतबार

अत्यावश्यक औषधि उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छ : उपप्रधानमन्त्री यादव

blog

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव ।

काठमाडौं, चैत ३० गते । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधि स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । 

शुक्रबार राष्ट्रिय सभा बैठकमा पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

उपप्रधानमन्त्री यादवले महामारी, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना तय गरी कार्यान्वयनमा लगिएको बताउनुभयो । उहाँले वडा तहसम्म नै आँखाको उपचारमा पहुँच पुर्‍याउन राष्ट्रिय आँखा स्वास्थ्य नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि बताउनुभयो । उपप्रधानमन्त्री यादवले जनताको पोषणको अवस्था सुधार ल्याउन सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अति आवश्यक औषधीलाई नेपालमा नै उत्पादन गर्नेगरी प्रक्रिया अघि बढाइएको छ । द्रुतगतिमा फैलिएर आर्थिक, सामाजिक क्षेत्रमा नकारात्मक असर पार्ने महामारी रोगको प्राथमिकताका साथ प्रतिकार गर्न जनस्वास्थ्य, पशुस्वास्थ्य र वातावरणीय स्वास्थ्यका निकायको एकीकृत प्रयासका लागि एक स्वास्थ्य अवधारणा अनुरूप एक स्वास्थ्य रणनीति २०७६ स्वीकृत भएर कार्यान्वयनमा रहेको छ । नसर्ने रोगको बढ्दो भारलाई रोकथाम तथा नियन्त्रणका लागि सम्बद्ध सरोकारवालाको सहभागितामा बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ स्वीकृति गरी कार्यान्वयनमा रहेको । नेपाली जनताको पोषणको अवस्था सुधार गर्न बहुक्षेत्रीय पोषण योजना स्वीकृत भई कार्यान्वयनमा रहेको छ । राष्ट्रिय आँखा स्वास्थ्य नीति २०७९ स्वीकृत भएर कार्यान्वयनको चरणमा रहेको छ ।’

उपप्रधानमन्त्री यादवले सरकारले गरिब नागरिकका लागि उपचारको सेवामा पहुँच पुर्‍याउन सक्दो पहल गरिरहेको बताउनुभयो ।