• २१ वैशाख २०८१, शुक्रबार

माटोमा नाइट्रोजन र पोटासको कमी

blog

माटो प्रयोगशालामा परीक्षण गरिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत ३० गते ।
खेतीयोग्य जमिनको माटोमा नाइट्रोजन र पोटासको कमी भएको पाइएको छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले रैथाने बाली र फलफूल लगाउने जग्गाको माटो परीक्षण गर्ने क्रममा नाइट्रोजन र पोटासको कमी भएको पाइएको बताउनुभयो ।

समकोट गाउँपालिकाले यस वर्ष आठ वटै वडाका एक सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु गरेको छ । यसका लागि माटोको अवस्थाका बारेमा जानकारी लिन माटोको परीक्षण गरिएको हो ।

यसैगरी, फलफूल खेती पनि विस्तार गरिएको छ । रैथाने बाली र फलफूल व्यावसायिक रुपमा लगाउन सुरु गरिएपछि शाखाले ती जग्गाको माटो परीक्षण कार्य अगाडि सारेको हो ।

उहाँले माटो परीक्षण गर्दा दुई वटा आवश्यक तत्वको कमी पाइएपछि अब त्यसको उपचार गरिने बताउनुभयो । माटो परीक्षणको प्रतिवेदन नकारात्मक आएपछि किसानहरुलाई समेत यसबारे शाखाले अभिमुखीकरण गरेको छ ।

त्यस्तै, माटोमा फसफरसको मात्रा भने बढी देखिएको उहाँको भनाइ छ । यसले उत्पादनमा ह्रास ल्याउने भएको कारण तत्काल माटोको उपचार गर्ने कार्यक्रम अगाडि सारिएको जानकारी उहाँले दिनुभयो । यसका लागि जिल्ला बाहिरबाट चुन र जिप्सम ल्याएर माटोको उपचार गरिने उहाँले बताउनुभयो ।