• २३ वैशाख २०८१, आइतबार

‘राष्ट्रपति रनिङ सिल्ड नयाँ खेलाडी उत्पादनको मुख्य श्रोत’

blog

नयाँ रनिङ सिल्ड सार्वजनिक गर्दै राखेप सदस्य सचिव टङ्कलाल घिसिङ ।

काठमाडौँ, चैत २९ गते । युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा वैशाख ४ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई नयाँ खेलाडी उत्पादनको मुख्य श्रोतको रूपमा लिइएको छ । 

प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले नेपालमा आयोजना हुने जुनियर स्तरको सबैभन्दा ठुलो प्रतियोगिताको रूपमा रहेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई नयाँ खेलाडी जन्मने ‘ग्रासरुट’ कार्यक्रमको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

‘‘देशका सात सय ५३ स्थानीय निकायका विद्यालय, जिल्ला, प्रदेश हुँदै छानिएर केन्द्रमा आउने खेलाडी वास्तवमै राम्रो हुन्छ । सहभागी सङ्ख्या र लगानीको हिसाबले पनि यसको महत्त्व ठुलो छ । यसलाई नयाँ खेल प्रतिभा जन्मने थलोको रूपमा अझै व्यापक बनाउन आवश्यक छ,’’ सदस्य सचिव घिसिङले भन्नुभयो । 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेल समावेश गरिएको छ । आगामी दिनमा खेल सङ्ख्या थप्दै जाने राखेपको योजना रहेको राखेपले जनाएको छ । प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी हुनेछन् । सहभागी खेलाडीले ६६ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । 

एथलेटिक्सका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमिकभर्डहलमा हुनेछ ।

प्रतियोगितामा पुरस्कार राशि ११ लाख ५२ हजार रुपियाँ राखिएको प्रतियोगिता व्यवस्थापन समितिका संयोजक मीन शर्माले जानकारी दिनुभयो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

समग्रमा टिम च्याम्पियन बन्ने टोलीलाई नगद पुरस्कारसहित रनिङ सिल्ड प्रदान गरिने राखेपले जनाएको छ । यसअघि लुम्बिनी प्रदेशले लगातार तीन संस्करणको उपाधि जित्दै रनिङ सिल्ड आफ्नो बनाएको थियो । त्यसैले यसपल्ट आकर्षक नयाँ रनिङ सिल्ड तयार पारिएको छ । बिहीबार नै सदस्य सचिव घिसिङले नयाँ रनिङ सिल्डको अनावरण गर्नुभयो । 

प्रतियोगितामा दोस्रो र तेस्रो हुने टिम तथा जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । सहभागी प्रत्येक खेलाडीलाई दैनिक १२ सय रुपियाँ भत्ता र तीन सय रुपियाँ बराबरको दैनिक खाजाको व्यवस्था गरिएको पनि व्यवस्थापक शर्माले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले एक करोड ५० लाख रुपियाँ विनियोजन गरेको राखेपले जनाएको छ । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुनेछ ।