• २४ वैशाख २०८१, सोमबार

आरभबन्धुको एकल चित्रकला प्रदर्शनी

blog

काठमाडौँ, चैत २९ गते । चेल्सी वर्ल्ड स्कुलमा अध्ययनरत छ वर्षीय आरभबन्धु थापाले काठमाडौँमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । 

काठमाडौँको नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा उहाँको एकल चित्रकला प्रदर्शन भएको हो । प्रदर्शनीमा उहाँले बनाएका २५ चित्रकला राखिएको छ । उहाँले कोर्नुभएका चित्रमा तिब्बतको कैलाश पर्वतदेखि उपत्यकाका मठमन्दिर, दरबार क्षेत्र र विभिन्न जात्रा समेटिएका छन् । प्रदर्शनीमा उपत्यकाका तीनै सहर काठमाडौँ, भक्तपुर र ललितपुरका सम्पदाको चित्र रहेका छन् । 

बिस्केट जात्रा, न्यातपोल मन्दिर, तलेजु मन्दिर, नवदुर्गा देशघर, भक्तपुर दरबार क्षेत्र र शिलु महादेवलगायतका सम्पदा उहाँका चित्रमा झल्कन्छ ।

विगत एक वर्षदेखि चित्र कोर्न बढी क्रियाशील रहेको आरभबन्धुकी आमा गीताञ्जली श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बाहिर घुम्न गएको समय उनी चित्र कोर्नमा व्यस्त हुन्छन् । चित्रसँगै विद्यालयको अन्य क्रियाकलापमा पनि उत्तिकै सक्रिय छन् आरभ ।” चेल्सी वल्र्ड स्कुलका निर्देशक सुरेश अधिकारीले आरभ चित्र कोर्नमा साथै अध्ययन तथा अन्य क्रियाकलापमा पनि उत्तिकै अब्बल रहेको बताउनुभयो ।