• २२ वैशाख २०८१, शनिबार

मानव सेवा आश्रमको भवन निर्माणका लागि साङ्गीतिक कार्यक्रम

blog

काठमाडौँ, चैत २७ गते। गायिका आनी छोइङ डोल्माले  बेलायतमा हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिनुहुने भएको छ। मानव सेवा आश्रम नेपालको भवन निर्माणका लागि सहयोग जुटाउन हुने साङ्गीतिक कार्यक्रममा उहाँको प्रस्तुति राखिएको हो। 

आगामी मे ५ (वैशाख २३) तारिखका दिन गायिका आनीले बेलायतको क्याम्बर्ली सरे स्थित लेकसाइड इन्टरनेशनल कन्ट्री पार्कको हलमा विशेष साङ्गीतिक प्रस्तुति दिनुहुनेछ। 

उक्र कार्यक्रमलाई ‘इनर मेलोडी फर इनर पिस’ नाम दिइएको छ। मानवताको संरक्षण र प्रवर्द्धनका लागि विगत एक दशकदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थाले वि.सं. २०८२ सालसम्ममा सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल बनाउने लक्ष्य लिएको मानवसेवा आश्रमले जनाएको छ। सोही उद्देश्य पुरा गर्न लागिएको साङ्गीतिक कार्यक्रमबाट एक करोड ६८ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य आयोजकको छ। 

कार्यक्रममा नेपाली दर्शक सँगसँगै आध्यात्मिक तथा बौद्ध धर्ममा आस्था राख्ने बेलायत तथा युरोपका दर्शक पनि सहभागी हुने अपेक्षा गरिएको छ। 

१५ सय दर्शक सहभागी हुने अनुमान गरिएको यस कार्यक्रममा मुख्य अतिथिमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य सहभागी  हुनुहुनेछ। 

कार्यक्रम सफल बनाउन संस्थाका संयोजक सुनिल बाबु खड्काको संयोजकत्वमा ३१ सदस्यीय मूल समिति र विभिन्न कार्यगत उपसमिति गठन गरिएको छ। मानव सेवा आश्रमले विभिन्न आश्रममा १० हजार बढी असक्तलाई आश्रय दिएको छ।