• २१ वैशाख २०८१, शुक्रबार

प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम

blog

एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्मा । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, चैत २७ गते  । 
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिनुभएको थियो । नयाँ सत्ता समीकरण अनुसार नै अघि बढ्नुपर्ने भएपछि उहाँले राजीनामा दिनुभएको थियो । लगत्तै प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठन गर्न आह्वान गर्नुभयो । तर अहिलेसम्म न मुख्यमन्त्रीका लागि दाबी पेस भयो छ न सत्तारुढ गठबन्धन दलहरूबिच भागबन्डाको कुरा नै मिल्यो ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेश सभाका सदस्यलाई चैत २७ गते साँझ ५ः५० बजे भित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको हो । मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय मङ्गलबार अन्तिम हो ।

माओवादी संसदीय दलका नेता समेत रहेका शर्माले राजीनामा दिएपछि नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्दै हुनुहुन्छ । कँडेलको रणनीति पहिला मुख्यमन्त्री बन्ने त्यसपछि भागबन्डा गर्ने हो । तर माओवादी भने पहिला प्याकेजमै भागबन्डाको टुङ्गो लगाउनुपर्ने त्यसपछि मात्रै मुख्यमन्त्री नियुक्तको पक्षमा उभियो । यही कुरामा दुई दलबिचको अडानले बिहीबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कार्यक्रम नै स्थगित भयो ।

उक्त दिन दुई दलका नेताहरूबिच मुख्यमन्त्री निवासमा वान टु वान वार्ता समेत चल्यो तर, कुरो टुङ्गोमा पुगेन । माओवादी संसदीय दलको बैठकले सरकारबारे सम्पूर्ण निर्णय गर्ने जिम्मेवारी दल नेता शर्मालाई दिइसकेको छ ।

मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कुरामा किन ढिलाइ ? भन्ने प्रश्नमा एमाले संसदीय दलका नेता कँडेल भन्नुहुन्छ, ‘‘दाबी पेस गरेपछि भइहाल्छ नि साथीहरू हो ।’’ कँडेलले भागबन्डाको विषयमा त बोल्नै चाहनुभएन । उता काम चलाऊ सरकारका मुख्यमन्त्री एवम् माओवादी संसदीय दलका नेता शर्माले भने निरन्तर छलफल भइरहेको बताउनुभयो ।

‘‘भागबन्डाको कुरा सकेर नै मुख्यमन्त्रीको दाबी पेस हुने कुरा हो,’’उहाँले भन्नुभयो, ‘‘(सोमबार) पनि छलफल भयो । मंगलबार नै मुख्यमन्त्रीको दाबी पेस हुन्छ ।’  तपाईँहरूले दाबी गर्नु भएको अनुसार भागबन्डा पहिला नै हुन्छ कि मुख्यमन्त्री नियुक्त पछि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘‘पहिला नै हुन्छ नि, छलफल सकारात्मक तरिकाले अघि बढेको छ ।’’ तर यो समाचार तयार गर्दासम्म भागबन्डाको सहमति भने भइसकेको अवस्था छैन ।