काठमाडौँलगायत सहर र सहरउन्मुख गाउँहरूमा बढ्दो जनघनत्व र अव्यवस्थित सहरीकरणसँगै घरघरमा पानी जम्मा गर्नुपर्ने बाध्यता त छँदै छ । बाटोको खाल्टाखुल्टी, टायर, कौसीमा वर्षाको पानी जम्मा हुँदा डेङ्गु फैलनमा मद्दत पुग्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने एक सामान्य भाइरल रोग डेङ्गुबाट १२८ मुलुकका तीन अर्ब ९७ करोडभन्दा बढी मानिस जोखिममा छन् । बर्सेनि पाँच करोडदेखि १० करोडभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुने गर्छ, जसमा पाँच लाख बिरामीमा कडा प्रकृतिको डेङ्गु हेमोरेजिक फिबर वा रक्तश्रावजन्य डेङ्गु हुने गर्छ । यस रोगले वार्षिक २२ हजार बालबालिका तथा २४ हजार मानिसको मृत्यु हुने गर्छ । पछिल्लो दशकमा यस रोगको प्रभाव एसियाली मुलुकमा बढी परेको पाइन्छ ।
विज्ञका अनुसार जलवायु परिवर्तनका कारण संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिट माथि डेङ्गु गराउने लामखुट्टे सर्दै छ । आकार सानो, झट्ट नदेखिने र दिउँसो आउने भएकाले यो लामखुट्टेको आवाज सुनिँदैन । प्याट्ट मार्दा रगत आउँदैन । कालो, फुस्रो धुलो जस्तो देखिन्छ । टोकेपछि शरीरमा चिलाए जस्तो हुने, मसिना बिमिरा आउने, केही समय नराम्ररी चिलाउने तथा कहिलेकाहीँ बिमिरा बढेर ठुला फोका हुन्छन् । यसलाई हुर्कन पाँच मिलिलिटर जमेको पानी र तापक्रम १६ देखि ४० डिग्री भए पुग्छ । लामखुट्टे घरभित्र जमेर बसेको पानी जस्तै एसी, कुलर, खानेपानीको ट्याङ्की, फूलदानी, गमला, फालेको टायर, मिनरल वाटरको खाली बोतल जस्ता अप्ठ्यारा ठाउ“मा पाइने गर्छ । सबैभन्दा खतरनाक त टायर हो, जहाँ हरेक पत्र पत्र वा तह तहमा पानी जम्छ । सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई एसियन टाइगर वा भिआइपी लामखुट्टे पनि भनिन्छ । सङ्क्रमित लामखुट्टेले पारेका फुलबाट उत्पन्न हुने सबै लामखुट्टे जीवनभर सङ्क्रमित रहन्छन् तर लामखुट्टेबिना मानिसबाट मानिसमा डेङ्गु सर्दैन ।
फलेवी विषाणु समूहमा पर्ने डेङ्गु विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरसको तीव्र सङ्क्रमणले डेङ्गु लाग्छ । मांसपेसी र हड्डीमा निकै पीडा हुने भएकाले ब्रेक बोन वा लोकभाषामा ‘हाडतोड ज्वरो’ यसलाई भनिन्छ । डेङ्गु रोग तीन दिनमै नरम हु“दै जाने भएकोले यसलाई तीनदिने ज्वरो पनि भनिन्छ । चार प्रकारको डेङ्गु विषाणुको सङ्क्रमणपश्चात् लक्षण नदेखाउने वा छुट्ट्याउन नसकिने ज्वरो, डेङ्गु ज्वरो, डेङ्गु हेमोरेजिक ज्वरोस“गै रगतको प्लाज्मा बाहिरिएर हाइपोभोलिमक सक डेङ्गु सक सिन्ड्रोम प्रकारको हुन सक्छ । डिएफ र डिएचएफको पाँच प्रतिशतभन्दा कममा असामान्य लक्षण तथा चिह्नहरू देखिन्छन् । कलेजो बेकम्मा भई जन्डिस हुने, वंशानुगत मुटु रोग, थ्यालेसेमिया तथा दिमागको सुजन र इन्सेफेलोप्याथि हुन सक्छ ।
शरीरमा भाइरस पसेको पाँचदेखि आठ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आ“खा पाक्ने, रुघाखोकी लाग्ने लक्षणहरू देखिन्छन् । ज्वरो, बिमिरा र टाउको वा शरीर दुख्ने डेङ्गुको त्रिभुज लक्षण हुन् । बढी पीडित हुनेमा बालबालिका र वृद्धवृद्धा हुन् । आर्थिक, सामाजिक र शैक्षिक रूपले विपन्न वर्ग यसबाट अत्यधिक पीडित हुन्छन् । एक्कासि चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र्र टाउको दुख्ने, आ“खाको पछाडिको भाग दुख्ने, खुट्टा मांसपेसी, हाड, ढाड र जोर्नीहरू दुख्न थाल्छ । डेङ्गु भनेकै दुखाइभन्दा फरक पर्दैन । मुख्य लक्षण नै अत्यधिक शारीरिक पीडा हो । ‘ब्रेक बोन फिबर’ अर्थात् हड्डी भाँचिएसरह दुखाइ हुने ज्वरो पनि भनिन्छ । यतै लक्षण देखाउने अन्य रोगमा कोभिड, फ्लु, रुघाखोकी पर्छन् ।
शरीरमा रातो बिमिरा, वाक्वाकी, बान्ता पनि यसका प्रमख लक्षण हन् । खानामा अरुचि, रिँगटा लाग्ने, टाउको र आ“खा दुख्ने गर्छ । आ“सु आउने, निद्रा नलाग्ने, भोक नलाग्ने, मुख नमिठो हुने, स्वाद हराउने, तितो स्वाद आउने, वाक्वाकी लाग्ने, बान्ता हुने, चक्कर लाग्ने र कमजोरी महसुस हुन्छ । हाल अधिकांश सङ्क्रमितले घाँटीमा समस्या भई दुख्ने गरेको गुनासो गर्ने गरेका छन् । मुटुको चाल कम, छालामा राता दाना, बिमिरा, फोका र डाबर देखिन्छ र क्रमशः हराउ“छ । नाक, गिजा, योनी र आन्द्राबाट रक्तश्राव हुने गर्छ ।
डेङ्गु सङ्क्रमण भए पछि कडा रूपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तस्रावका लक्षण देखा पर्न सक्छ, जसलाई डिएचएफ भनिन्छ । रक्तस्राव भई रक्तस्रावका धब्बा देखिने, रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, ढाड दुख्ने, मुख निलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पर्न सक्छ । जीवन्त तन्तुमा असर परी डिएसएस– सक हुन सक्छ ।
डेङ्गु ज्वरो घटेको दुई दिन अवस्था गम्भीर हुन्छ । कोभिड १९ को मोडेल जस्तै डेङ्गुमा सङ्क्रमित धेरै भएकाले र केही मात्र गम्भीर हुने भएकाले घरमै बसेर उपचार लिने तर जटिल लक्षण देखिए तुरुन्तै अस्पताल जानु पर्छ । पहिलो दुईदेखि सात दिनको फेब्राइल अवस्थापछि घरैमा ज्वरो घट्छ । बिस्तारै सुधार हुँदै जान्छ तर कतिपयमा ज्वरो घटेसँगै अवस्था जटिल हुन सक्छ । जटिल अवस्था २४ देखि ४८ घण्टा रहन्छ । तारन्तार बान्ता हने, अत्यधिक पेटको दुख्ने, नाक, गिजा वा शरीरका अन्य ठाउँबाट रगत बग्ने, दिसापिसाब वा बान्तामा रगत देखिने, आलस्य वा बेचैन हुने, श्वासप्रश्वासमा तीव्रता वा कठिनाइ हुने लक्षण देखिए तरुन्त चिकित्सक वा अस्पताल जानु पर्छ । १५ देखि २५ प्रतिशतमा पोष्ट डेङ्गु देखिने गरेको छ । टाउको दुख्ने, खाना नरुच्ने, कपाल झर्ने, ज्वरो, रिँगटा, शरीर काम्ने लक्षण पनि देखिन्छन् । अस्पताल भर्ना भएर निको भएकामा पोष्ट डेङ्गु सिन्ड्रोम बढी देखिएको छ ।
डेङ्गु विषाणुको सङ्क्रमणबाट हुने रोग भएकोले उपचार लक्षणको आधारमा गरिन्छ । एस्प्रिन र बु्रफिन जस्ता औषधी सेवन गर्नु हुँदैन । प्रशस्त मात्रामा तरल र झोलिलो कुरा दिँदा लक्षणमा कमी आउनुका साथै रोगका जटिलता कम गर्न सघाउँछ । क्लासिक डेङ्गु सामान्य प्रकारको हो र आफैँ निको हुन्छ तथा मृत्युको सम्भावना कमै हुन्छ । यदि डेङ्गु हेमोरेजिक ज्वरो वा डेङ्गु सक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यु पनि हुन सक्छ । डेङ्गुको खोप विकसित देशमा उपलब्ध भए पनि हामीकहा“ छैन । खोपले डेङ्गुको जटिलता ९० प्रतिशतले कम, अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ ।
नेपालमा डेङ्गु देखिएको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागु गरेको छ । ७७ वटै जिल्लामा कार्ययोजना कार्यान्वयनका लागि पठाइसकिएको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृद्धिविकास कसरी रोक्ने, उपचार के के गर्ने, स्थानीय तहको भूमिका, रेडक्रसको भूमिका, बढी जोखिम भएका ९२ स्थानीय तहमा एक्सन प्लानसहित काम गरिएको छ ।
डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्नो हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाइ अभियान अनिवार्य सञ्चालन गर्न जरुरी छ ।
‘डेङ्गु नष्ट घरबाटै’ भन्दै अभियान चलिरेहेको छ । हरेक २० जना सङ्क्रमितमध्ये एक जनालाई जटिल अवस्था हुन सक्ने र मृत्युदर एकदेखि दुई प्रतिशत देखिन्छ । गर्भवती, साना बच्चा र दोहोरिएर सङ्क्रमण भएकामा जटिल समस्या आउन सक्छ । घरभित्र र बाहिर लामखुट्टेको फुल पार्ने ठाउँलाई खोज्ने र नष्ट गर्नु पर्छ । जोखिम कम गर्न वरिपरि सफा राख्ने र पूरा बाहुला भएको पोसाक लगाउनु पर्छ ।
डेङ्गु सर्ने प्रमुख कारण सङ्क्रमित लामखुट्टेको टोकाइ नै हो । त्यसैले यसबाट जोगिनु पर्छ । सरकारीस्तरबाट भएका अभियान, सचेतना र सावधानी तथा तयारीले मात्र यसको नियन्त्रण हुन नसक्ने भएकाले नागरिकहरू झन् बढी सर्तक हुन जरुरी छ । आफूलाई नपरी नचेत्ने बानीले ठुलो समस्या निम्त्याउँछ । सचेत बनौँ ।