• ९ मंसिर २०८१, आइतबार

विद्युतीय सुरक्षा सचेतना

blog

नेपाल विद्युत् प्राधिकरणले विगत केही वर्षदेखि प्रत्येक वर्षको चैत २६ गते विद्युत् सुरक्षा दिवस मनाउँदै आएको छ । अनावश्यक रूपमा विद्युत् उपयोग नहोस्, यसको किफायती उपयोग होस् र यसको उपयोग गर्दा यसबाट सुरक्षित रहन सकियोस् भन्ने हेतुले विद्युत् सुरक्षा दिवस मनाउन थालिएको हो । विद्युत् मानव जीवनका लागि अत्यावश्यकीय सेवाका रूपमा विकसित हुँदै आएको छ । यसको प्रयोग भान्सादेखि उद्योगसम्म, दिनदेखि रातसम्म, प्रकाशदेखि प्रविधिसम्म पाइला पाइलामा आवश्यक छ । तथापि यो आफैँमा एउटा संवेदनशील र खतरनाक सेवा भएकाले यसबाट सुरक्षित रहन पनि आवश्यक छ । हुन त मानिसलाई हरेक काम गर्दा सुरक्षाको जोखिम हुन्छ नै तथापि विद्युत् शक्तिको करेन्टबाट जोगिन त झन् जोखिम छ । विद्युत्ले मानिस मात्र होइन जनावर, चराचुरुङ्गी, रुख बिरुवालगायत प्राणीजगत्लाई प्रभाव पार्ने भएकाले यसको प्रयोग गर्दा बढीभन्दा बढी सचेत र सतर्क रहन आवश्यक छ । 

विगत केही समययता मुलुकमा विद्युतीय दुर्घटनाका समाचार बढ्दै गएका छन् । परिणाम स्वरूप धनजनको क्षति पनि बढ्दै गएको छ । यो नेपाल विद्युत् प्राधिकरणको मात्र होइन आमसरोकारको विषय पनि भएकाले सबैले सावधानी अपनाइ विद्युतीय दुर्घटना न्यूनीकरण गर्नु पर्छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले हालसालै सार्वजनिक गरेको निम्न लिखित अपिलको पालना गर्नु अपरिहार्य छ :

  • पोल, टावर, स्टे, तार जस्ता विद्युतीय संरचना हात वा फलामले नछुने ।
  • विद्यतीय तार लत्रिएको वा चुँडिएको देखिएमा नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा यथाशिघ्र खबर गर्ने । 
  • विद्युतीय प्रणालीमा रहेका इन्सुलेटर, तार जस्ता उपकरणमा कुनै क्षति भएको देखिएमा वा विद्युत् लाइन नजिक रहेका बाँस, लहरा वा रुखका हाँगाले विद्युतीय लाइनमा छुने अवस्था देखिएमा नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा जानकारी गराउने ।
  • विद्युत् लाइनमाथि वा नजिक रहेका रुखका हाँगा काट्दा उक्त हाँगाले विद्युतीय तारमा छुन गई दुर्घटना हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउने ।
  • विद्युतीय संरचनामा अनावश्यक रूपमा ढुङ्गा हान्ने जस्ता अवाञ्छित व्रिmयाकलाप भएको देखिएमा त्यस्ता क्रियकलाप नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने ।
  • तोकिएको मापदण्ड विपरीत वितरण तथा प्रशारण लाइनमुनि पर्ने गरी भवनलगायतका संरचना निर्माण नगर्ने ।
  • हुकिङलगायतका कुनै विधि प्रयोग गरी विद्युत् चोरी गरेको देखेमा तत्काल नजिकको प्राधिकरणको कार्यालयमा खबर गर्ने ।
  • विद्युतीय संरचनामा रहेका सामग्री जस्तै अर्थिङ तार, नटबोल्ट, च्यानल जस्ता सामग्री चोरी भएको पाइएमा नजिकको प्राधिकरणको कार्यालयलाई जानकारी गराउने ।

प्राधिकरणको उक्त सार्वजनिक अपिल हामी जोकोहीको जिउज्यानको सुरक्षाका लागि हो । यसलाई बस्ती बस्तीका जन जनले बोध गर्न जरुरी छ । यो सार्वजनिक सूचना आधारभूत र सङ्क्षिप्तमा हो । यसबाहेक पनि विद्युत्बाट सुरक्षित रहन अन्य थुप्रै सावधानी अपनाउनु पर्छ, जसलाई तल उल्लेख गरिएको छ ।

विद्युत् शक्तिबाट सर्वप्रथम करेन्टसँग दिनरात खेल्ने कर्मचारी सुरक्षित रहनु पर्छ । त्यसका लागि फिल्डमा खटिने प्राविधिक कर्मचारीले इलेक्ट्रिकलसम्बन्धी आधारभूत ज्ञान र सिप प्राप्त गरेको हुनु पर्छ । उक्त ज्ञान र सिपको कमी भएका कर्मचारी पहिचान गरी प्राधिकरणले ती कर्मचारीलाई विद्युतीय सुरक्षासम्बन्धी तालिम प्रदान गर्नु पर्छ । त्यसै गरी कर्मचारीले विद्युत्सम्बन्धी काम गर्दा ‘सेफ्टी फस्र्ट’ अर्थात् पहिला आफू सुरक्षित रहने कुरालाई प्राथमिकतामा राख्नु पर्छ । आफू सुरक्षित रहन हेल्मेट, पन्जा, सेफ्टी सुज, सेफ्टी बेल्टलगायतका विद्युतीय सुरक्षा सामग्री प्रयोग गर्नु पर्छ । विद्युत्सम्बन्धी मर्मतसम्भारलगायतको काम गर्दा करेन्ट अफ गरेर मात्र काम गर्नु पर्छ । सबैभन्दा संवेदनशील कुरा यससम्बन्धी कुराको जानकारीका लागि लाइन काट्ने र पोल चढ्नेबिच उचित समन्वय हुनु पर्छ । विद्युत्सम्बन्धी कुनै नौलो वा जानकारी नभएको विषयवस्तु भए आफ्ना सिनियरलाई सोधेर जानकारी लिएर मात्र काम गर्नु पर्छ । 

विद्युत्को काम अरू काम जस्तो बिग्रेको खण्डमा पछि सच्याएर हुँदैन । यसले विज्ञानसँग प्रत्यक्ष सम्बन्ध राख्छ र यो एस/ नोमा आधारित हुन्छ । काममा अलिकति पनि गल्ती भयो भने तत्काल दुर्घटना भई जिउज्यान नै जोखिममा पर्छ । यस्ता घटना धेरै घटिसकेका छन् । घटना कतिपय कर्मचारीको लापर्बाहीले, कतिपय लाइन सटडाउनलगायतमा कमजोर समन्वयले, कतिपय विद्युत् प्रयोगकर्ताको लापर्बाहीले त कतिपय प्राविधिक गडबडीले भएका छन्, जसबाट विद्युत् दुर्घटना भई एकातिर बर्सेनि सयौँ मानिस र हजारौँ चौपाया तथा चराचुरुङ्गीको अकालमा मृत्यु हुने गरेको छ भने अर्कोतिर आगलागी भएर विशाल धनराशि नष्ट हुने गरेको छ ।

खास गरी सर्वसाधारण नागरिकले दैनिक रूपमा उपभोग गर्ने विद्युत् ऊर्जासँग खेलबाड गर्नु हुँदैन, सावधानी अपनाउनु पर्छ । मानिस नभएको बेलामा विद्युतीय प्लग अफ गरेर राख्नु पर्छ । लामो समयसम्म विद्युतीय उपकरण सुचारु गरी राख्नु हुँदैन । चिसो हातले प्लगलगायत विद्युतीय सामग्री तथा उपकरण छुनु हुँदैन । हावाहुरी चलेको बेला विद्युत्को तारमुनि बस्नु हुँदैन । मेघ गर्जेको बेला चट्याङ पर्न सक्ने भएकाले त्यस्तो बेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स उपकरण चलाउनु हुँदैन, उक्त समयमा मर्मतसम्भारको कार्य पनि गर्नु हुँदैन । विद्युत्को नाङ्गो तार नजिकै रही त्यसलाई छुन लागेका रुखमा आफैँले छिरलिएका हाँगाबिँगा काट्नु अर्थात् बुस कटिङ गर्नु हुँदैन, प्राधिकरणका कर्मचारीलाई खबर गर्नु पर्छ । 

त्यसै गरी कतिपय स्थानका वितरण लाइनमा अझै होचा पोल विस्थापित गरिएको छैन । होचा पोलमा जडान भएका विद्युतीय तारमुनि अग्ला अग्ला बाली, फलफूल तथा बोटबिरुवा लगाउनु हुँदैन । कहींकतै विद्युत्का तार लत्रिएको अवस्थामा भए नजिकैको प्राधिकरणको कार्यालयमा खबर गर्नु पर्छ । नेपाल विद्युत् प्राधिकरणको सम्पर्क नम्बर विद्युत् बिलमा हुन्छ । त्यो नम्बर तत्काल प्राप्त गर्न सम्भव नभएमा प्राधिकरणको हटलाइन नम्बर ११५० मा सम्पर्क गरी जानकारी गराउनु पर्छ । त्यसै गरी घरमा रहेका प्लगका प्वालमा अबोध बच्चाले छुन नसक्ने गरी बच्चाहरूको पहुँचबाट टाढा राख्न वा ‘चाइल्डप्रुफ प्लग’ प्रयोग गर्नु पर्छ । ट्रान्सफरमरलगायत विद्युतीय उपकरण राखिएका स्थान जहाँ खतरा/सावधान लेखिएको हुन्छ, त्यहाँ जाने, छुने, चलाउने गर्नु हुँदैन र बच्चालाई पनि त्यस्तो स्थानमा जान दिनु हुँदैन । भान्सामा काम गर्ने ज्येष्ठ नागरिकले बिजुलीको प्रयोगसम्बन्धी कुनै कुराको जानकारी नभएमा आफ्ना बालबच्चा, नातिनातिनालाई सोधेर मात्र बिजुलीको प्रयोग गर्नु पर्छ । पाठ्यक्रममा विद्युत्सम्बन्धी पाठ समावेश गरिएको हुनाले स्कुलका विद्यार्थी भाइबहिनीले पनि उक्त कुरा सजिलै बताइदिन सक्छन् । त्यसै गरी चौपाया र बालबालिकालाई एक्लै छोड्नु हुँदैन किनकि चेतनाको कमीले तिनीहरू खतरा/सावधान लेखिएको विद्युत् पोस्टभित्र पनि पुग्न सक्ने तथा लत्रिएका तारमा प्रवेश गर्न सक्ने भएकाले विद्युत् दुर्घटना हुन सक्छ । 

यस प्रकार विद्युत् शक्तिको उपयोग मानव जीवनका लागि एउटा अपरिहार्य पूर्वसर्तका रूपमा रहेको छ । यसले मानवीय जीवन यापनलाई सरल र सहज बनाएको छ । यसको उपयोग गर्दा प्राधिकरणमा काम गर्ने कर्मचारी र सर्वसाधारण नागरिकले माथि उल्लिखित सुरक्षा सावधानी अपनाएर मात्र उपयोग गर्नु पर्छ । नेपाल सरकार र विद्युत् प्राधिकरणले समय समयमा जनचेतनामूलक कार्यक्रिम सञ्चालन गरेर अमूल्य जीवन रक्षार्थ जनतालाई सतर्कता र सावधानीका सूचनामूलक सन्देश प्रवाह गर्नु पर्छ । त्यसै गरी विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ ले विद्युत् दुर्घटनाको क्षतिपूर्ति रकम व्यवस्था गरेको भए पनि त्यो ज्यादै न्यून भएकोले समयानुकूल बनाउन आवश्यक छ । जस्तै प्राधिकरणको कमजोरीका कारणले विद्युत् दुर्घटना भई कसैको गाई भैँसीको करेन्ट लागेर मृत्यु भयो भने त्यसको क्षतिपूर्ति २० हजार रुपियाँ मात्र रहेको छ । कसैको बाख्रालाई करेन्ट लागेर मृत्यु भयो भने त्यसको क्षतिपूर्ति १० हजार रुपियाँ मात्र रहेको छ । रकम ज्यादै न्यून भएकोले आवश्यक संशोधन जरुरी छ । सम्बन्धित पशुधनीको लापर्बाहीका कारणले वा प्राधिकरणको लापर्बाहीबाहेक अन्य कारणले त्यस प्रकारको दुर्घटना भएमा प्राधिकरणको दोष देखाइ क्षतिपूर्ति दाबी गर्ने प्रचलनमा भने नागरिकस्तरमा सुधार हुन जरुरी छ । 

  

Author

भोला शर्मा